देशभर थप १,९४५ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

Newslaya Home

देशभर थप १,९४५ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

शुक्रबार ०५, मङि्सर २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १,९४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा देशभरि १०,३४१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिँदै आएको छ। यसप्रति जनस्वास्थ्यविद्‌हरूले चिन्ता व्यक्त गरेका छन्।

शुक्रबार परीक्षणको लगभग १९ प्रतिशतमा सङ्क्रमण देखिएको छ।

काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम अहिले जारी छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १७ हजार नजिक पुगेको छ। तीमध्ये एक लाखभन्दा बढी काठमाडौं उपत्यकामा फेला परेका हुन्।

अहिले पुष्टि भएका २४,६६५ जना सक्रिय सङ्क्रमित देशभरि छन्।

सरकारको तथ्याङ्कअनुसार शुक्रबारसम्म नेपालमा १,२९८ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।