बच्चाहरुका लागि फेसबुकले ल्यायो छुट्टै मेसेन्जर

Newslaya Home

बच्चाहरुका लागि फेसबुकले ल्यायो छुट्टै मेसेन्जर

बुधबार ०३, मङि्सर २०७७

काठमाडौं । तीन वर्षअघि फेसबुकले बालबालिकालाई लक्षित गरेर ‘मेसेन्जर किड’ नामक एप निकालेको थियो।

द भर्जकाअनुसार मेसेन्जरको यो नयाँ संस्करण १३ वर्ष भन्दा मुनिका बालबालिकाको लागि बनाइएको हो। जसमा उनीहरुले भिडियो च्याट र मेसेज गर्न मिल्ने सुविधा रहेको छ।

सन् २०१७ मा एप सार्वजनिक गरिएको भएपनि केही वर्ष यता मात्रै यसको चर्चा बढेको छ। यो एप बालबालिकाको अनलाइन गोपनीयता र सुरक्षा ऐनको अनुपालन गर्न पनि डिजाइन गरिएको फेसबुकको भनाइ छ।

सामाजिक सञ्जालमा बालबालिका माथि अनलाइन शोषण हुनेको संख्या बढ्दै गएपछि फेसबुकले उनीहरुका लागि छुट्टै एप निकालेको हो।

धेरै अनलाइन सेवामा साइन अप गर्न १३ वर्ष वा माथिको उमेर हुनुपर्ने मापदण्ड हुने भएकोले ‘मेसेन्जर किड’ खोल्नको लागि फेसबुक अकाउन्ट खुल्नु पर्दैन।

टेक हिन्दुस्तानकाअनुसार अभिभावकले आफ्नो फेसबुक अकाउन्टकै नाम र पासवर्ड प्रयोग गरेर बच्चाको लागि ‘मेसेन्जर किड’ खोल्न सक्छन्। साथै अभिभावकले आफ्ना बच्चा कुन साथी र परिवारका सदस्यसँग मेसेज गर्न सक्छन् भनेर नियन्त्रण गर्न सक्नेछन्।

बुधबार फेसबुकले ‘मेसेन्जर किड’मा अझै नयाँ अपडेट ल्याएको छ। यस अपडेट भित्र एपमा ‘च्याट’ र ‘नेभिगेसन’ बटन इन्बक्सको तल थपिएको छ। यसरी बालबालिकाले च्याटमा कुराकानी गर्दागर्दै सजिलै अन्य गतिविधि चलाउन सक्नेछन्।

योसँगै अभिभावकले आफ्ना बच्चाको अकाउन्टमा आउने ‘फ्रेन्ड रिक्वेस्ट’को सूची पनि मिलाउन सक्छन्।

एपमा बालबालिकाको फेसबुक समूह हेर्नको लागि अभिभावकले अरु कुनै अभिभावक वा शिक्षक पनि छनोट गर्न सक्छन्। यी नयाँ अपडेट भित्र धेरै परिवर्तन भने भएको छैन।

‘मेसेन्जर किड’ अमेरिका, क्यानडा, जापान, भारत, ब्राजिल लगायत ७० वटा देशमा उपलब्ध छ। यो एप दुवै आइओएस र एन्ड्रोइडमा डाउनलोड गर्न सकिन्छ।