कोरोना संक्रमण देखिएको एक वर्ष पूरा, ५ करोड ५९ लाख बढी संक्रमित

Newslaya Home

कोरोना संक्रमण देखिएको एक वर्ष पूरा, ५ करोड ५९ लाख बढी संक्रमित

बुधबार ०३, मङि्सर २०७७

काठमाडौं । विश्वमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको एक वर्ष पुरा भएको छ । गत वर्ष नोभेम्बर १७ मा चीनको वुहानमा पहिलो संक्रमित भेटिएको चिनियाँ सरकारी अधिकारीले बताएका छन् ।

चिनियाँ अधिकारीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरे अनुसार नयाँ भाइरसको संक्रमणबारे आम रुपमा जानकारी गराउनुअघि नै कम्तिमा २ सय ६६ जनामा भाइरस सरिसकेको थियो । तर चीन सरकारले डिसेम्बर ८ मा पहिलो संक्रमित भेटिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई आधिकारिक रुपमा जानकारी गराएको थियो । यो भाइरस मानिसबाट मानिसमा सर्ने बारेमा जनावरी २१ मा मात्रै थाहा भएको थियो ।

कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको चीनमा अहिलेसम्म ८६ हजार ३ सय ६१ जना संक्रमित छन् । जसमध्ये ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ भने ८१ हजार ३ सय ७४ जना निको भएका छन् ।

अहिले चीनमा ३ सय ५३ जना सक्रिय संक्रमित रहेकामा ३ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । गएको २४ घण्टामा चीनमा १५ जना संक्रमित थपिएका छन् ।

अहिलेसम्म विश्वभर ५ करोड ५९ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये ३ करोड ८९ लाख निको भएका छन् भने १ करोड ५६ लाखको उपचार भइराखेको छ । उपचार गराइरहेका एक लाखको अवस्था जटिल भए पनि अरुको अवस्था सामान्य छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ करोड १६ लाखमा कोरोना पुष्टि हुँदा ७० लाख ७१ हजार निको भएका छन् । २ लाख ५४ हजारको भने मृत्यु भएको छ ।

त्यसैगरी ८९ लाख १२ हजारमा कोरोना पुष्टि भएको भारतमा निको हुनेको संख्या विश्वभरीकै धेरै छ । भारतमा मात्रै ८३ लाख ३३ हजारले कोरोना जितिसकेका छन् भने १ लाख ३१ हजारको मृत्यु भएको छ ।

यसैगरी फ्रान्समा २० लाखभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा रुसमा १९ लाख, स्पेनमा १५ लाख, बेलायतमा १४ लाख, अर्जेन्टिनामा १३ लाख, इटाली र कोलम्बियामा १२ लाखभन्दा धेरै तथा मेक्सीकोमा १० लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । ​​

नेपालमासमेत पछिल्लो समयमा संक्रमण तिब्र रुपमा फैलिइरहेको छ । सक्रमितको संख्या तीन लाख नाघेको नेपालमा १२ सय ४७ जनाको मृत्यु भइसकेको छ ।