एउटा परेवा २२ करोडमा बिक्यो

Newslaya Home

एउटा परेवा २२ करोडमा बिक्यो

मङ्गलबार ०२, मङि्सर २०७७

काठमाडौं । बेल्जियममा एउटा परेवा २२ करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिकेको छ ।

बेल्जियममा एउटा रेसर परेवा १९ लाख डलरमा बिक्री भएसँगै दुनियाको सबैभन्दा महंगो परेवाको कीर्तिमान कायम गरेको हो । न्यू किम नामको उक्त पोथी परेवाको उमेर २ वर्षको छ ।

तिव्र वेगमा उड्नसक्ने उक्त धावक परेवालाई २ सय ३७ डलरमा लिलामीमा राखिएको थियो । तर त्यसको मूल्यभन्दा कैयन् गुणा धेरै अर्थात् १९ लाख डलरमा चीनका एक व्यक्तिले सो परेवा खरीद गरे ।

यसअघि सबैभन्दा बढि मूल्यमा बिक्ने परेवाको किर्तिमान एउटा चार वर्षको भाले परेवारको नाउँमा थियो, जो १४ लाख डलरमा बिक्री भएको थियो । अरमान्डो नामको उक्त रेसिङ च्याम्पियन परेवालाई परेवाको लुईस ह्यामिल्टन पनि भनिन्थ्यो । उक्त परेवा रिटायर्ड हुनुभन्दा अगाडि सन् २०१९ मा बिक्री गरिएको थियो ।

सबैभन्दा महंगो परेवा न्यू किमले सन् २०१८ मा आयोजित परेवा उडान प्रतियोगितामा विभिन्न राष्ट्रिय प्रतिस्पर्धाहरु जितेको थियो र त्यसपछि उसले अवकास लिएको थियो ।

यो परेवाले १० वर्षको उमेर हुँदासम्म फुल पार्न सक्दछ । त्यसैले करोडौँमा किनिएको यो परेवालाई समेत प्रजनन मार्फत रेसिङ परेवा उत्पादनका लागि प्रयोग गर्ने सम्भावना रहेको छ ।