कंक्रिटको सामान बनाउँदा यस्ता छन् मापदण्ड

Newslaya Home

कंक्रिटको सामान बनाउँदा यस्ता छन् मापदण्ड

सोमबार ०१, मङि्सर २०७७

काठमाडौं । प्रिकास्ट कंक्रिटका निर्माण सामग्रीहरु उत्पादन गर्दा अब गुणस्तर मापदण्ड पुरा गर्नुपर्ने भएको छ । सरकारले यस्ता निर्माण सामग्री उत्पादनमा पहिलोपटक मापदण्ड निर्धारण गरेको हो ।

देशैभर अहिले सयौंको संख्यामा प्रिकास्ट कंक्रिटका सामाग्रीहरु उत्पादक छन् । मापदण्ड नहुँदा पूर्वाधार निर्माण गरेको छोटो समयमै ब्लकहरु फुस्किने, पानी लिकेज हुने, भारवहन क्षमता थेग्न नसकेर ब्लक फुट्नेलगायतका विविध समस्याका कारण बजेट खेर गइरहेको छ ।

स्थानको बनोट, सवारीसाधन आवतजावत संख्या र वजन लगायतका विविध पक्षलाई आधार बनाएर सरकारले पेभिङ (ब्लक्स), कर्भ्स, च्यानल्स्, एजिङ्स, क्वाड्रयान्ट्स र गट्टर एप्रोन्सको मापदण्ड तय गरेको हो ।

मापदण्डमा पेभरको स्ट्रेन्थ एम ३० देखि एम ५५ कायम गरिएको छ भने पाँचदेखि १२ सेन्टिमिटर मोटाइसम्मको इन्टरलक पेभर उत्पादन र प्रयोग गर्न सकिने प्रावधान बनाइएको छ । पाँच सेन्टिमिटर मोटाइ भएको इन्टरलक पेभरको स्ट्रेन्थ (भारवहन क्षमता) एम ३० र १२ एमएमको स्ट्रेन्थ एम ५५ सम्म हुनुपर्ने मापदण्ड तय गरिएको छ । यही मापदण्ड भारतका साथै युरोपेली देशहरुमा कार्यान्वयनमा रहेकाले नेपाल सरकारले तय गरेको मापदण्ड यी देशहरुकै अनुभवलाई आधार बनाएर ड्राफ्ट गरिएको जानकारको भनाइ छ ।

कंक्रिटिङ गर्नु साटो फुटपाथ एवम् पैदलयात्री हिँड्ने बाटोमा पाँच सेन्टिमिटर र बस टर्मिनल, सुख्खा बन्दरगाहलगायतका क्षेत्रमा १० सेन्टिमिटरको मोटाइको पेभमेन्ट प्रयोग गर्न सकिने बताइएको छ । सरकारले तोकेको मापदण्डअनुसारकै सामाग्री प्रयोग गर्नुपर्ने नियम छ ।