बलात्कारीलाई नपुसंक बनाउने सजाय दिने बारे छलफल सुरु

Newslaya Home

बलात्कारीलाई नपुसंक बनाउने सजाय दिने बारे छलफल सुरु

सोमबार ०१, मङि्सर २०७७

काठमाडौ । नेपालमा बलात्कारीलाई नपुंसक बनाउने कानून बनाउनुपर्ने विषय चर्चामा आउने गरेको छ । पाँच वर्षअघि नै छलफल भएपनि अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।

तत्कालीन व्यवस्थापिका संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले बालिका बलात्कार गर्नेलाई कैद सजायसँगै नपुंसक पनि बनाउनुपर्ने विषयमा गृह, महिला मन्त्रालय तथा विज्ञहरु समेतसँग छलफल गरेको थियो । तर, त्यो छलफल निष्कर्षमा पुगेन ।

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो अमेरिकी तथा यूरोपेली लगायत दर्जनौं देशले बलात्कार तथा गम्भीर यौन अपराध गर्ने विरुद्ध रासायनिक बन्ध्याकरण गरिदिने (क्यास्ट्रेसन) कानून बनाएर कार्यान्वयन गरिरहेका छन् । 

अमेरिकाको अलाबामा राज्यले सन् २०१९ जुनमा १३ वर्षमुनिका बालिकामाथि यौन अपराध गर्ने व्यक्तिलाई जेल सजाय काटेर रिहा हुनु अघि रासायनिक बन्ध्याकरण (केमिकल क्यास्ट्रेसन) गर्ने कानून बनाएको हो । युक्रेनमा पनि २०१९ को जुलाईमा बाल यौन दुर्व्यहार गर्ने विरुद्ध रासायनिक बन्ध्याकरण गर्ने कानून पारित भएको छ । इन्जेक्सनको माध्यमबाट गरिने बन्ध्याकरण १८ वर्षभन्दा कम र ६५ वर्षभन्दा बढी उमेरका अपराधीलाई भने नगरिने व्यवस्था छ ।

रुसले सन् २०११ मै बाल यौन दुव्र्यवहार सम्बन्धी कानून बनाएर २०१२ लागू गरेको छ। त्यहाँ १४ वर्षमुनिका बालबालिकामाथि यौन अपराध गर्नेलाई चिकित्सा विधिबाट रासायनिक बन्ध्याकरण गरिदिने व्यवस्था छ । सोही अपराध दोहोर्‍याए आजीवन काराबास बस्नुपर्ने व्यवस्था छ ।  

इन्डोनेसियामा २०१६ अक्टोबरमा र पोल्याण्डमा सन् २००९ मा यस प्रकारको कानून आएको हो। यस्तै, दक्षिण कोरियाको कानूनमा १६ वर्ष मुनिकालाई बलात्कार गर्दा तथा मोबाइलको प्रयोगबाट यौन अपराध गर्नेलाई १५ वर्षसम्म बन्ध्याकरण गरिने व्यवस्था छ । यो कानून सन् २०१७ मा बनाइएको हो । 

नेपालमा पनि मृत्युदण्डको साटो यो नयाँ कानून उपयुक्त हुने बारे सांसद, मन्त्रीहरुदेखि चिकित्सक, कानूनविद अनि मानवअधिकारकर्मीहरुबिच छलफल चलिरहेको छ ।