सासबाट तत्काल कोरोना भाइरस पत्ता लगाउने प्रविधि आउँदै

Newslaya Home

सासबाट तत्काल कोरोना भाइरस पत्ता लगाउने प्रविधि आउँदै

आइतबार ३०, कार्तिक २०७७

ऐजेन्सी । अहिले कोरोना भाइरस पत्ता लगाउन स्वाब परिक्षण गर्नुपर्ने अवस्था छ । जुन केही घण्टादेखि केही दिनसम्म लाग्छ । तर अब भने सास परिक्षणबाट तत्कालै कोरोना भाइरस पत्ता लगाउने प्रविधि आउने भएको छ ।

मान्छेको सास विश्लेषण गर्ने प्रविधिले छाती सम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड १९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ ।

स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि लान्सिट नामक जर्नलले त्यसबारे लेख प्रकाशित गरेको छ । त्यसको विकासकर्ता इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले बजेट सुनिश्चित भएमा छ महिनाभित्र प्रयोगका लागि तयार हुनसक्ने जनाएको छ ।

यो प्रविधि सफल भएमा उड्डयन, यातायात, अध्यागमनमा यसको प्रयोग हुनसक्छ । यो मेसिनको प्रयोगले सामान्य मानिसले नै कोरोना भाइरस केही सेकेण्डमै पत्ता लगाउन सक्नेछ ।

कोरोना भाइरस महामारी फैलिएको प्रारम्भिक चरणतिर एडिन्बरा र जर्मनीको डोर्टमन्डस्थित अस्पतालका बिरामीहरूमा कम्पनीले विकास गरेको प्रविधिको परीक्षण गरिएको छ । लफबरा विश्वविद्यालयले नेतृत्व गरेको अध्ययनमा सहभागी अनुसन्धानकर्ताहरूले कोभिड १९ का बिरामी र छातीसम्बन्धी सङ्क्रमणका अन्य बिरामीबीच ती यन्त्रहरूले फरक छुट्ट्याउन सक्छन् कि सक्दैनन् भनेर हेरेका थिए । उक्त यन्त्रले मानिसको सासमा श्वासप्रश्वाससम्बन्धी निश्चित रोगको सङ्केत दिने कुनै विशिष्ट रसायन छ कि भनेर वैज्ञानिकहरूलाई जानकारी दिन सक्छ ।

उक्त परीक्षणमार्फत् कोभिड १९ जनाउने विशिष्ट रसायन पत्ता लागेको छ जसलाई परम्परागत पीसीआर विधिबाट पुनर्पुष्टि पनि गरिएको छ । दम वा ब्याक्टेरियाले गराउने निमोमियाजस्ता अरू रोगसँग छुट्ट्याएर कोभिड १९ का बिरामीको हकमा ८० प्रतिशत नमुनामा सही नतिजा देखाएको पाइएको छ ।