‘३४ हजार सहकारीलाई ५ हजारमा झार्नुपर्छ’

Newslaya Home

‘३४ हजार सहकारीलाई ५ हजारमा झार्नुपर्छ’

बुधबार १९, कार्तिक २०७७

इटहरी–१६ बालग्राम चोकमा अवस्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. पुर्वी नेपालकै सफल सहकारीहरुको सुचीमा पर्छ । इटहरी बजार, खनार, रामधुनीको झुम्का बजार, बराहक्षेत्रको बयरबन, बांगेबजार, राजाबास गरी ६ वटा सेवा केन्द्रहरु सञ्चालन गरिरेको यो सहकारीमा साढे १२ हजार सदस्यहरु छन् । आफ्नै भवनमा कार्यालय सञ्चालन गरिरहेको सहकारीले नयाँ भवन निर्माण गर्नेसमेत योजना बनाएको छ । सहकारीका अध्यक्ष शालिकराम ढकालसँग सहकारीका विभिन्न पक्षको सम्बन्धमा न्युजलयले गरेको कुराकानी ः

सहकारीको समग्र अवस्था के छ ?
अहिले सहकारीमा १२ हजार ५ सय जना सदस्य हुनुहुन्छ । ६ वटा सेवाकेन्द्र छन् । संस्थामा सदस्य बन्ने क्रम तिब्र गतिले चलिरहेकै छ । यो महामारीको समयमा पनि हामी कहाँ सदस्य बन्न वरिपरिका धेरै जना आइरहनु भएको छ । बचत जम्मा गर्ने सदस्यहरु पनि बढ्दै जानुभएको अवस्था छ । अहिले सदस्य र बचत वृद्धिमा संस्थाले सफलता हाँसिल गरिरहेको छ ।

सदस्यहरुलाई कस्तो स्किमहरु दिइरहनुभएको छ ?
हाम्रो बचत तथा ऋण सहकारी संस्था भएकाले मूलरुपमा हामी बचत र ऋणकै कारोबारमा केन्द्रीत छौं । हामीलाई राज्यको ऐनकानूनले दर्ता गर्दा दिएको मुख्य अधिकार नै बचत संकलन गर्ने र सदस्यहरुलाई आवश्यकताअनुसार ऋण प्रवाह गर्ने नै हो । बचत तर्फ पनि हाम्रा १५÷१६ वटा बचत छन्, र ऋण तर्फ पनि हाम्रा ८÷९ वटा ऋण उत्पादन छन् । हामीले बचत र ऋणलाई नै विविधिकरण गरेका छौं ।

सहकारीहरु मर्ज हुने गरेका छन्, त्यसमा यहाँको विचार के छ ? किसान कल्याणको तयारी छ कि छैन ?
सहकारी संस्थालाई वास्तवमा मर्ज गर्नुपर्छ, एकिकरणमा लग्नुपर्छ भनेर हाम्रो संस्थाले बिगत १० वर्षअघि देखि नै हाम्रो संस्थाले अत्यन्तै महत्वका साथ बहस गर्दै आएको हो । सहकारी संस्थाहरु एकिकरण हुनैपर्छ । यति सानो देश जहाँ जम्मा ३ करोड जनसंख्या छ । यत्रो देशमा अहिले ३४ हजार ५ सय वटा सहकारीहरु दर्ता भएर सञ्चालनमा रहेको तथ्यांक छ । हाम्रो देशमा ५ हजार मात्र सहकारी संस्था भयो भने ठिक्क हुन्छ । त्यसो हुनाले ३४ हजार ५ सय वटा सहकारी संस्था देशमा आवश्यक्ता छैनन् । त्यसकारण राज्यले कुनै प्रकारको सहजिकरण गरेर, मोटिभेसनका लागि कुनै प्रकारको सेवा सहुलियतहरु दिएर फोर्स मर्जिङमा लानुपर्छ अथवा मोटिभेसन गरेर सहकारीहरु आफैलाई एकिकरणमा जाने वातावरण बनाउनुपर्छ ।

जहाँसम्म हाम्रो कुरा छ, हामीले केही सहकारी संस्थाहरुलाई एकिकरणको लागि प्रस्ताव पठाएका छौँ, छलफल सुरु गरेका छौँ । भर्खरै इटहरी वडा नं.८ को जनता बचत तथा ऋण सहकारी संस्था संग एकिकरण गर्ने भनेर सञ्चालक समितिको तहमा एकप्रकारको सहमति गरेका छौँ । अन्य एक–दुई वटा सहकारीसँग हाम्रो सघन छलफल चलिरहेकै छ ।

समग्र सहकारी क्षेत्रभित्रको विकृतिलाई कसरी हेर्नु भएको छ ?
यसलाई म दुई पक्षबाटै हेर्छु । सहकारी संस्थाहरुले यो देशको राष्ट्रिय पुँजी निर्माणमा निकै ठुलो योगदान गरेको छ । बेरोजगारी समस्या समाधानमा सहकारी संस्थाको योगदान ठुलो छ । समग्रमा जीडिपिको करिब ४ प्रतिशत सहकारीको योगदान छ भन्ने आँकडा अर्थविदहरु प्रस्तुत गर्छन् । त्यति हुँदा हुँदै पनि सहकारी संस्थाभित्र भएका विभिन्न प्रकारका विकृतिहरु पनि त्यत्तिकै डरलाग्दा छन् । ती विकृतिहरुले सहकारी संस्थालाई बेलाबेलामा बदनाम गराईरहेको अवस्था पनि छ । ती विकृति हुनुको पछाडि सहकारीलाई मात्र दोष दिन्नँ ।

राज्यको नियामक निकायले सहकारी संस्था दर्ता गरीदिसकेपछि त्यो सहकारीले वार्षीक साधारणसभा गरेको छ की छैन, त्यो सहकारी संस्थाले आफ्नो सेयर दस्यमात्र काम गरेको छ कि गैरसदस्यसँग कारोबार गरेको छ, सहकारीमा नियमित रुपमा बैठक हुन्छ कि हुँदैन, सञ्चालकहरुले सहकारीको अभियानलाई ऐन नियम कानूनलाई कति बुझेका छन् भनेर विभिन्न कोणबाट हेर्ने, मापन गर्ने नियमन गर्ने गर्नुपर्छ । तर नियमन, अनुगमन नहुँदा धेरै जनताहरुको पुँजी दुरुपयोग भइरहेको छ ।

तथापि हामी किसान कल्याणले भने स्थापना कालदेखि नै सम्पूर्ण नियम पालना गर्दै आएको छ । एसियाली ऋण महासंघले हाम्रो संस्थालाई एक्सेस टेक्नोलोजि अन्तर्गत सिल्भर मेडल प्रदान गरेको छ भने भर्खरै नेपाल बचत तथा ऋण सहकारी संस्थाले देशभरीका सहकारी संस्थाहरुको अध्ययन गरेर हाम्रो संस्थालाई यो देशको सर्वोत्तम सहकारी संस्थाको रुपमा पुरस्कृत पनि गरेको छ ।

इटहरीमा धेरै सहकारी छन् तर किसान कल्याणमा नै किन कारोबार गर्नुपर्छ ?
किसान कल्याण नीति, विधि र प्रविधिमा सञ्चालित संस्था हो । हामी जे काम गर्छौँ, राज्यको ऐनको परिधिभित्र रहेर आफैले बनाएको विनियमअनुसार गर्छौं । त्यो विनियमअन्तर्गत २४ शीर्षकका विभिन्न नीतिहरु बनाएका छौँ । ६ वटा निर्देशिका बनाएका छौं । ती नीति र निर्देशिकालाई कार्यान्वयन गर्नका लागि कार्यविधिहरु बनाएका छौं । नीतिभन्दा बाहिर गएर संस्थामा हामी कुनै पनि काम गर्दैनौँ । एसियाली ऋण महासंघले प्रतिपादन गरेको एक्सेस ब्राण्डिङ प्रविधि अवलम्बन गरेका छौं । जसमा ८६ वटा सूचक हुन्छन् । त्यो सूचकलाई हामीले पूर्णरुपमा पालना गरेर कार्यन्वयन गरेको कारणले हामीलाई एसियालि ऋण महासंघले सिल्भर मेडलबाट पुरस्कृत गरेको हो ।

विश्व ऋण परिषदको साधारणसभाले पास गरेको पल्स मनिटरिङ सिस्टमका ४६ वटा सूचकहरुलाईसमेत हामीले पालना गरेका छौं, ध्यान दिएका छौं । हाम्रो संस्थामा सबै कारोबार उच्चस्तरको सफ्टवेयर कम्प्युटर प्रविधिबाट हुने गरेको छ । नीति विधि र प्रविधिमा सञ्चालित संस्था भएको हुनाले यो संस्थामा बचत गर्ने सदस्यहरुको बचतको शतप्रतिशत सुरक्षाको प्रत्याभूति संस्थाले गरेको छ । हामी पदाधिकारीहरु संस्थाको निरन्तर वृद्धि र विकासका लागि चिन्तनशिल छौं । र हामीले व्यवस्थापन टिमलाई अत्यन्तै प्रोफेसनल बनाएका छौं । तालिम र प्रविधिद्वारा उहाँहरुलाई सक्षम बनाएका छौं । र व्यवस्थापनको टिमले संस्थाको नीति, विधिलाई पालना गरेर काम गर्नुहुन्छ भने सञ्चालक समिति पनि संस्थालाई आवश्यकताअनुसार नीति, विधि र प्रविधिको विकासको लागि एड्भान्स प्रविधि भित्राउन लागिपरेका छौं ।

त्यसैले किसान कल्याण निकै विश्वासीलो छ भनेर दाबी गर्न सक्छु । त्यसैले किसान कल्याणको सदस्य बनी कारोबार गर्न हार्दिक आग्रह गर्दछु ।

किसान कल्याणको भावी योजना के छ ?
हाम्रो सञ्चालक समितिले संस्थाको ४ वर्षीय रणनीतिक योजना भर्खरै पास गरेको छ । अब हामी साधारणसभामा लगेर रणनीतिक योजनालाई पास गराउँछौं । यो हाम्रो चौथो रणनीतिक योजना हो ।

हाम्रो कार्यक्षेत्र इटहरी उपमहानगरपालिका, रामधुनि नगरपालिका, बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका र गढि गाउँपालिकाको वडा नं. १ को कार्यक्षेत्रमा बसोबास गर्ने कम्तिमा ३० प्रतिशत जनसंख्यालाई सदस्य बनाउने योजना छ । किसान कल्याणका सेयर सदस्यले अर्को कुनैपनि वित्तिय संस्थामा जानु नपरोस् र सदस्यहरुलाई आवश्यकता परेको बेलामा बचत फिर्ता ५ मिनेट भित्रमा गरिदिने र आवश्यकता परेअनुसारको ऋण उपलब्ध गराउने गरि वित्तिय सेवासुविधा दिने योजना बनाएका छौं । यो संस्थामा आबद्ध भएका प्रत्येक सेयर सदस्यलाई रोजगारीमा जोड्नुपर्छ भन्ने उद्देश्यले सेयर सदस्यलाई उसको योग्यता, क्षमता र चाहना अनुसारको सीप प्रदान गर्न चाहन्छौं ।

सँगसँगै हामीले किसान कल्याणका सदस्य रोग लागेर अकालमा मर्नु नपरोस् भनेर उपचारका लागि पनि केही योजनाहरु बनाउँदैछौं । सेयर सदस्यको छोराछोरीहरुले गुणस्तरिय शिक्षा र प्राविधिक शिक्षा लिन चाहेको खण्डमा त्यस किसिमको शिक्षाबाट बन्चित हुन नपरोस् भनेर हामीले ऋण सहयोग सुरु गरेका छौं । ५ वर्षपछि मात्र किस्ता गणना गर्ने गरि शैक्षिक क्षेत्रमा ऋणको व्यवस्था ल्याएका छौं ।
विभिन्न सामाजिक कार्यक्रमहरु, स्वास्थ्य शिविरहरु, ज्येष्ठ नागरिक भत्ता वितरण, विपतमा राहत उपलब्ध गराउने लगायतका कामहरुसमेत नियमित गरिरहेका छौं ।

2 प्रतिकृयाहरू प्राप्त
  • टंक नाथ ढकाललेख्नुहुन्छ
  • |
  • शुक्रबार २१, कार्तिक २०७७
1,समग्र आव्स्था राम्रो रहेछ। 2,सर्ब साधारणलाई सेयर बितरन छ की?
  • सीताराम ढकाललेख्नुहुन्छ
  • |
  • शुक्रबार २१, कार्तिक २०७७
नयाँ सदस्यता वितरण कहिले हुन्छ ? email मा Message आउने व्यवस्था छ कि ।