विराटनगरको सहिद रंगशालामा मंसिर भित्रै फ्लड लाइट जडान गरिने

Newslaya Home

विराटनगरको सहिद रंगशालामा मंसिर भित्रै फ्लड लाइट जडान गरिने

शुक्रबार १४, कार्तिक २०७७

विराटनगर । विराटनगरको सहिद रंगशालामा मंसिर महिना भित्र फ्लड लाइट जडान गरिने भएको छ । प्रदेश सरकारले रंगशालामा मंसिर भित्रै फ्लड लाइट जडानको काम पूरा गर्ने तयारी गरेका हो ।

फ्लड लाइट जडानका लागि आवश्यक सामग्री आइसकेका कारण मंसिर भित्रमा जडान सकिने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । रंगशालामा फ्लड लाइट जडानका लागि आवश्यक सामग्री ल्याएपछि शुक्रबार निरीक्षणमा पुगेका मन्त्री घिमिरेले एक महिना भित्र सबै काम पूरा हुने बताएका हुन् ।

२०७६ असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच फ्लड लाइट जडान गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार ठेकदार कम्पनीले ३३ मिटर अग्लो पोलमा फ्लड लाइट जडान गर्ने सामाग्री ल्याएको हो । लाइटका लागि रंगशालाको चार कुनामा चारवटा पोल गाडिने छन् । प्रत्येक पोलमा १ हजार वाटको २७ वटा बत्ती जडान गरिनेछ । लकडाउनका कारण भारतबाट सामग्री ल्याउन ढिलो भएका कारण निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको मन्त्री घिमिरेले बताए ।

अहिले ३३ मिटरका मास्ट (पोल) र १०८ वटा लाइट आइसकेकाले एक महिना भित्र काम सक्ने तयारी भएको बताइएको छ । निर्माणको समय सीमा २८ पुससम्म छ ।

मन्त्रालयले फ्लड लाइट जडानका लागि ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको थियो ।