सप्तरीका नेकपा नेता चौधरीको कोरोनाबाट मृत्यु

Newslaya Home

सप्तरीका नेकपा नेता चौधरीको कोरोनाबाट मृत्यु

मङ्गलबार ११, कार्तिक २०७७

राजविराज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् संविधान सभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट निधन भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुरका ६० वर्षीय चौधरीको उपचारका क्रममा बिपी प्रतिष्ठान धरानमा मङ्गलबार(आज) मृत्यु भएको हो । ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्या भएका चौधरीलाई गत कात्तिक ३ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिराटनगरमा उपचारपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन दिएर राखिएका चौधरीको स्वास्थ्य समस्या वढेपछि कात्तिक २ गते राति नै धरान रेफर गरिएको थियो ।

जहाँ उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । उनको धरानस्थित बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।