इटहरी रंगशालास्थित आइसोलेसनः कमसल खाना, फोहोर र अस्तव्यस्त बसाई

Newslaya Home

इटहरी रंगशालास्थित आइसोलेसनः कमसल खाना, फोहोर र अस्तव्यस्त बसाई

मङ्गलबार ११, कार्तिक २०७७

इटहरी । कोरोना संक्रमितको लागि उपमहानगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा समस्याहरु रहेको भन्दै बरु होम आइसोलेसनमै बस्न कोरोना संक्रमितले आग्रह गरेका छन् । इटहरी रंगशालामा निर्मित आइसोलेसनमा न्युनतम मापदण्ड पनि पालना नभएको एक संक्रमितले लामो स्टाटस पोष्ट गर्दै खुलासा गरेका छन् ।

इटहरीका व्यवशायी तथा पत्रकार अर्जुन शर्माले आइसोलेसनको व्यवस्थापन राम्रो नभएको भन्दै झन् बिरामी हुने सम्भावना रहेकोले घरमै बस्न आग्रह गरेका हुन् । उनले खाना, सरसफाइदेखि चिकित्सकीय परामर्श र चेकजाँचहरुमा समेत समस्या रहेको भन्दै सकेसम्म होम आइसोलेसनमै बस्न सुझाव दिएका छन् ।

‘टिनले बारेको ५०×४० को छाप्रामा ६५ जना पुरुषहरुसम्म सुतियो र भनियो दुइ मिटर दुरी कायम छ,’ उनले फेसबुकमै लेखेका छन्, ‘४ चर्पी, २ बाथरुम यो भिडले प्रयोग गर्दाको हालतको बयान खै के गरौ ? दुई दिन लाइन जाँदाको गर्मी र राती टिनबाट चुहिने शितले भिज्दाका कष्टहरु सबैका मुखमा झुन्डिन्थे ।’

११ दिन आइसोलेसनमा बिताएका उनले थप लेखेका छन्, ‘कुहिएको आलु र पाकेको फर्सिको एकनासे गन्धले अझै उल्टि आउन खोजिरहेछ । सोडा हालेर फुलाएको भात, प्लास्टिकमा पोका पारेर पछार्दै ल्याएको पानी जस्तो मुसुरोदाल, घरिघरी आउने अचार र एक पित्को सागको सहारामा बाँच्दाको सास्ती सबैका आत्मिय बनिरहे । रात कटाउने खोरकै सिरान पारेर तयार गरेको खाल्डाबाट आउने दालभातको कुहिएको गन्ध ।’

राम्रो व्यवस्थापन भनेपनि आइसोलेसन बस्न उपयुक्त नभएको उनले बताए । त्यसमाथि नेपाली सेनाले राती हप्काउने गरेको समेत बताए । ‘सेनाले राती राती आएर किन खानेकुरा मगाउनुहुन्छ भनेर दुःख दिने गरेको छ,’ उनले भने, ‘यहाँ डाक्टर वा स्वास्थ्यकर्मी होइन, सेना आउँछन् ।’

शर्माले संक्रमितलाई सेनाले अमानवीय व्यवहार गरेको समेत गुनासो गर्दै भने, ‘सुत्ने ठाउँमा राती–राती सेनाको प्रवेश किन ?’

उनका अनुसार राती साह्रो गाह्रो पर्दा पनि बिरामीलाई संक्रमितहरुले नै एम्बुलेन्समा हालेर पठाउने बाध्यता छ ।

उनले संक्रमितलाइ सेना नलगाउन आग्रह गरेका छन् । साथै संक्रमितहरुलाई घरमै बस्न सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘एउटा सुझाव भरसक घरैमा बस्नोस, घर छैन भने खोलाछेउको रुखको छहारीमा बस्नोस, म चिउरा र तरकारी उपलब्ध गराउँला ।’

उक्त आइसोलेसन प्रदेश १ सरकारको २० लाख सहयोगमा निर्माण भएको हो । ५ असोजदेखि सञ्चालनमा आएको आइसोलेसनमा एक सय बेड क्षमता रहेको छ ।

खानामा धेरैको गुनासो छ : उपमेयर

यता गुनासोबारे प्रतिक्रिया दिँदै उपमेर लक्ष्मी गौतमले खानामा धेरै कम्प्लेन आइरहेको स्वीकार गरिन् । उनका अनुसार अहिले खानाको व्यवस्थापनको जिम्मा उद्योग वाणिज्य संघले लिएको छ । संघले सामाग्री उपलब्ध गराउने गरेको छ । ‘खानामा धेरैको गुनासो छ, तर नगरपालिकाले खानाको व्यवस्थापन गरेको होइन,’ उनले भने, ‘तीन महिनालाई जिम्मा संघले लिएको थियो ।’

संक्रमितहरुका अनुसार समय समयमा मासु खुवाउने भनिएपनि खुवाइएको छैन । दशैंको टिकाको दिन संक्रमितहरुसँग दशैं मनाउन पुगेकी उपमेयर गौतमसँग पनि संक्रमितहरुले मासु खान नपाएको गुनासो गरेका थिए । ‘त्यसपछि मैले नै पाँच किलो खसीको मासु लगेर दिएँ,’ उनले भनिन् ।

उनले सेनाले दुव्र्यवहार गरेको विषयमा छानविन हुनुपर्ने बताएकी छिन् । सिसिटिभीसमेत हेरेर छानविन गर्नुपर्ने उनको भनाई छ । उनका अनुसार आइसोलेसनमा केही समस्या देखिएपनि समाधान गर्ने प्रयास गरिरहेको बताइन् ।