‘दशैँमा कोरोनाबाट जोगिन यस्ता स्वास्थ्य मापदण्ड अपनाउनुहोस्’

Newslaya Home

‘दशैँमा कोरोनाबाट जोगिन यस्ता स्वास्थ्य मापदण्ड अपनाउनुहोस्’

आइतबार ०९, कार्तिक २०७७

आम नेपालीहरुको घरमा दशैं प्रवेश गरीसकेको छ । परिवारको जेष्ट सदस्यबाट टिका जमरा र आर्शिवाद लिनु दशैंको मुख्य विशेषता हुन् । सामान्यतया, वर्षभरी विभिन्न कामले देश विदेशमा रहे पनि दशैंमा भने घरमा भेला भई मिठो परिकार खाँदै खुसी र आर्शिवाद आदान प्रदान गर्ने चलन छ । यद्यपि यो वर्षमा भने कोभिड १९ को महामारीको बीच दशैं मनाइरहँदा कोरोना भाइरसबाट बच्न विशेष सावधानी अपनाउदै दशैं, तिहार जस्ता चार्ड मनाउनु पर्ने देखिन्छ ।

विगतमा दशैंको बेला अधिकांस शहर खाली हुन्थ्यो । गाउँमा आफन्त जनको बाक्लो उपस्थिति हुन्थ्यो । कर कोशेली ल्याउदै आफन्तकोमा जाने पनि लर्को लाग्थ्यो । तुलनात्मक रुपमा यो वर्ष कम चहलपहल भएपनि अधिकांश ठाउँमा लाग्छ लकडाउन सकिएसंगै कोरोना महामारी सकियो । याद गर्नुस्, मानिसहरुको यो बुझाई भने गलत छ । कोरोना केही होइन भन्नेहरुले अस्पतालको बेडहरु खाली नभएर अस्पतालको गेटबाट सुरक्षागार्डले बिरामी फिर्ता गरेका र अस्पताल चहार्दाचहार्दै अल्पायूमा आफन्त गुमाएकाहरुलाई एक पटक सोधे हुन्छ । साच्चै भन्नुपर्दा अहिलेको अवस्था जटिल छ ।

यो महामारीको विशेष अवस्था हो । हुनत आफैलाई नपरी थाहा हुँदैन । कतिपय मानिसहरुले कोरोनालाई बेवास्ता गरेको पनि पाइन्छ । तर कोभिड १९ संक्रमणबाट बच्न सकेसम्म प्रयास गर्नुपर्छ । मलाई लाग्छ, जटिल अवस्थाका दर्जनौ कोभिड संक्रमितहरुको उपचार र व्यवस्थापनको शिलशिलामा भएका मानवीय क्षति र वेदनाले भरिएका परिदृश्यहरुलाई नजिकबाट अनुभुति गरेको हुनाले कोरोना महामारी सामान्य मात्र हुँदै होइन ।

त्यस्तै, दशैमा प्रमुख आकर्षणको केन्द्र भनेको परिवारको जेष्ठ सदस्य हो । अर्को बुझ्नैपर्ने कुरा, कोभिड १९ को जोखिम समूह पनि जेष्ट नागरिक र दिर्घरोगीहरु नै हुन् । यसर्थ, दशैंमा जनस्वास्थ्यका मापदण्डहरुलाई कडाईको साथ व्यवहारमा लागु गरे दशै र त्यसपछिका दिनहरु शुभ रहने विश्वाससहित निम्न स्वास्थ्य सावधानीहरु अपनाउन हुन अनुरोध छ ।

१. दशैंमा आउने सबैलाई संक्रमण भएको हुन सक्छ भन्ने मान्यता राखी सावधानी अपनाऔं । आफु पनि बचौं, अरुलाई पनि बचाऔं भन्ने मूल मन्त्र अवलम्वन गरौ ।

२. घर बाहिरबाट आएपछि अनिवार्य नुहाउने र प्रयोग गरेको कपडा आदी अलग्गै सफा गर्ने ।

३. यो वर्ष भरसक आफन्तकोमा टिका लगाउन नजाने, जानै परे सीमित संख्यामा सावधानी अपनाएर जाने ।

४. आफन्तकोमा जाँदा सीमित कोशेलीहरु लिएर जाने । सकेसम्म घरायसी कोशेलीहरु उपयुक्त हुन्छ । स्मरण रहोस, कोशेली बोकेको देखिन्छ तर कोरोना भाइरस कोशेली लगेको देखिन्न ।

५. घरमै रहँदा पनि साबुन पानीले मिचि मिचि हात धोइरहने ।

६. घरभित्र संगै रहँदा पनि पर्याप्त भौतिक दुरी कायम गर्ने । सकेसम्म एल आकारमा रहेर कुराकानी गर्ने ।

७. घरमा रहेको अन्य सदस्यहरुले प्रयोग गर्ने नीजि सरसामानहरु जस्तैः ल्यापटप, मोबाईल, तौलियाहरु एक अर्काले प्रयोग नगर्ने । मोबाईलको कभर खोली सेनिटाईजरले राम्ररी सफा गर्ने ।

८. घरमा रहँदा पनि माक्सको उचित तरिकाले प्रयोग गर्नु उत्तम हुन्छ ।

९. टिका लगाउँदा अनिवार्य दुवैले माक्सको प्रयोग गर्ने । प्रत्येक पटक हात धुने वा सेनिटाइज गर्ने ।

१०. टिका लगाउन एकै पटक जमघट नगर्ने, अन्तरवार्ता लिदा पालैपालो प्रवेश गरेको जसरी टिका लगाउने व्यस्था मिलाउने । टिका लगाउदा भरसक वरण्डा वा आगंनमा खुल्ला हावा चल्ने स्थानमा लगाउने ।

११. टिका लगाई सकेपछि भरसक खुट्टामा नढोग्ने, टाढैबाट शिर निहुर्याएर दर्शन गर्ने ।

१२. दक्षिणा समेत दिदा सूरुमै तयारी अवस्थामा राखेको सेनिटाइज गरेको पैसा उपलब्ध गराउने ।

१३. पीसिआर फल्स नेगेटिभ आएको वा लक्षण बिहिन भएको अवस्था पनि हुन सक्ने भएकोले पीसिआर टेष्ट नेगेटिभ आएकोले पनि उत्तिकै सर्तकता अपनाउनु पर्छ ।

१४. संक्रमणपछि निको भएको मानिसमा रोग प्रतिरोधी क्षमता कम भएको हुनाले अन्य अवसरवादि संक्रमणहरु हुन सक्छ । रिइन्फेक्सन वा पोष्ट कोभिड पनि हुन सक्ने भएकोले थप भर्खरै निको भएको संक्रमितले थप सर्तकता अपनाउनु पर्छ ।

१५. खानेकुरामा मादक पदार्थ, चिल्लो, पिरो वा शरिरको पाचन प्रकृयामा असर पुर्याउने केही पनि खाने कुरा नखानुहोस् । परिवारको एक सदस्यको स्वास्थ्यमा समस्या आउनु भनेको परिवार विसन्चो हुनु हो भन्ने कुरा ख्याल गरौै ।

१६. फ्रिजमा राखेको पेय पदार्थको प्रयोग नगर्नुस् । दिनभर शरिरलाई पुग्ने गरी पर्याप्त मन तातो पानी पिउनूहोस् ।

१७. खाना खाइसकेपछि वा खानेकुरा खाएपछि ब्रस गर्नुहोस् । नुन पानीले मुख कुल्ला गरी ओरल हाइसिन कायम गर्नुहोस् ।

१८. सामान्यतया, चाड पर्वमा खानपिनको मात्रा बढि हुने हुँदा शारिरिक अभ्यास र घरायसी कार्यहरु समेत गरेर शरिरलाई सन्तुलित अवस्थामा राख्न प्रयास गर्नुहोस् । पर्याप्त सुत्नुहोस् । बिहान ७–८ बजेको घाम ताप्नुहोस् ।

१९. आफुले दैनिक खाने औषधीहरुको नियमित सेवन तथा प्रयोग गर्ने ।

२०. कोभिड १९ वा रुघा खोकीको लक्षण र चिन्ह भए नभए पनि दैनिक सुत्ने बेलामा तातो पानीको वाफ कम्तीमा आधा घण्टा लिनुहोस् ।

इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख डा.रामकुमार धमलाको फेसबुकबाट