लेबनानका प्रधानमन्त्रीमा हरिरि पुनः निर्वाचित

Newslaya Home

लेबनानका प्रधानमन्त्रीमा हरिरि पुनः निर्वाचित

शुक्रबार ०७, कार्तिक २०७७

काठमाडौं । लेबनानका पूर्वप्रधानमन्त्री साद हरीरी तेस्रो पटक पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरमा राजीनामा दिएपछि हरीरीले फेरि प्रधानमन्त्री बन्ने मौका पाएका हुन् । संसदमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए । ५३ जनाले मतदानमा भाग लिएका थिएनन् भने दुई जना अनुपस्थित रहेका थिए ।

यसअघि सन् २०१६ देखि हरीरीकै नेतृत्वमा सरकार बनेको थियो । सरकारका विरुद्ध व्यापक आन्दोलन भएपछि उनले सन् २०१९ अक्टोबर १८ मा राजीनामा दिएका थिए ।

गत जनवरी २०२० मा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो । तर, उनी धेरै समय टिक्न सकेनन् । गत अगस्टमा राजधानी बेरुतमा ठूलो बम विस्फोटनको घटना भएर दुई सयभन्दा बढीको मृत्यु र हजारौँ घाइते भएपछि उनले राजीनामा दिएका थिए ।

लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रीपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ ।