देशभर एकैदिन थप ३६ सय ३७ जनमा कोरोना पुष्टि, २१ जनाको मृत्यु

Newslaya Home

देशभर एकैदिन थप ३६ सय ३७ जनमा कोरोना पुष्टि, २१ जनाको मृत्यु

बिहीबार ०६, कार्तिक २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३,६३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। सो अवधिमा देशभरि १५,२५५ वटा नमुना परीक्षण गरिएको थियो।

काठमाडौं उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये १,५५२ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्।योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ४८ हजार नाघेको छ।

२४ घण्टाको अवधिमा बुधबार अपराह्णसम्म थप २१ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। योसहित नेपालमा अहिलेसम्म ८१२ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

सङ्क्रमितमध्ये २९० जना सघन उपचार कक्षमा र ७७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि ३,२१५ सङ्क्रमित रोगमुक्त भएका छन्। अहिलेसम्म एक लाख दुई हजारभन्दा बढी सङ्क्रमित निको भइसकेका छन्।