बिराट पाथीभरा पोलिक्लिनिकमा उपमहानगरले लगायो ताला

Newslaya Home

बिराट पाथीभरा पोलिक्लिनिकमा उपमहानगरले लगायो ताला

तलब नपाएका कर्मचारी भन्छन्, ‘के लिएर घर जानु ?’
बिहीबार ०६, कार्तिक २०७७

इटहरी । इटहरीमा तीन वर्षदेखि अबैध रुपमा सञ्चालन भइरहेको बिराट पाथीभरा पोलिक्लिनिकमा उपमहानगरपालिकाले तालाबन्दी गरिदिएको छ । स्वास्थ्य बिभागलगायतका निकायबाट अनुमति नलिई सञ्जय झाले गैंरकानूनी रुपमा सञ्चालन गरेको सो पोलिक्लिनिकमा बुधबार उपमेयर लक्ष्मी गौतमले तालाबन्दी गरिदिएकी हुन् ।

औषधी व्यवस्था बिभाग, इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरीसहितको टोलीले अनुगमनका क्रममा बिना दर्ता बिराट पाथीभरा पोलिक्लिनिक सञ्चालन गरेको पाईएकाले तालाबन्दी गरिएको हो ।

इटहरी ४ मा कम्पनी रजिष्टार कार्यालयमा मात्र दर्ता गरि तीन बर्षअघिदेखि सञ्चालनमा रहेको सो पोलिक्लिनिक अबैध रुपमा सञ्चालन हुँदै आएको थियो। सञ्चालक झाले फार्मेसी मात्र सञ्चालन गरेको पटक पटक दावी गरेपनि बिराट पाथीभरा पोलिक्लिनिक बोर्ड नै राखेर अस्पताल सञ्चालन गर्दै आएका थिए।

‘कोठा भाडा तिर्न सकेका छैनौं, दशैंमा के लिएर घर जाने ?’

झाले सञ्चालन गरेको उक्त पोलिक्लिनिकमा पछि अन्य डा. किशोर पौडेल र कोरियाबाट आएका सुनिल शर्मा आचार्य लगानिकर्ताको रुपमा थपिएका थिए । तीन जना सञ्चालक रहेको पोलिक्लिनिक झाको नाममा मात्र दर्ता छ । पोलिक्लिनिकले तलब नदिएको भन्दै चार जना कर्मचारीहरुले महानगरपालिकामा उजुरी समेत दिएका छन् ।

विभिन्न जिल्लाबाट आएर काम गरिरहेका चार जना कर्मचारीहरुले दशैंको मुखमा पनि पैसा नपाएको गुनासो गरेका छन् । झाले आफूले आफ्नो भागमा परेको रकम दिने बताएपनि अन्य दुई लगानीकर्ताहरुले भने कर्मचारीलाई तलबवापतको भुक्तानी दिन आनाकानी गरेपछि कर्मचारीहरुको बिचल्ली भएको छ ।

‘झा सरले आफ्नो भागको पैसा दिने बताएपनि पौडेलले पैसा दिँदैनौं, जे गर्छौ गर भनेर धम्की दिने गरेका छन्,’ पीडित कर्मचारी शिवहरी चौधरीले बताए, ‘कोठा भाडामा लिएर बसेका छौं, भाडा तिर्न सकेका छैनौं, दशैंमा के लिएर घर जाने ?’ गत माघमा आफू कम्पनिको साझेदार भएको भन्दै खर्चको जिम्मा लिएका आचार्यले पैसा दिनुपर्छ भन्ने भएपछि बहानाबाजी गरेको आरोप लगाएका छन् । पैसा दिने भनेर एक महिनाअघि प्रहरीकै अघि तीनै जनाले सहमती जनाएपनि पछि दिन आनाकानी गरेको पनि कर्मचारीहरुको भनाई छ ।

यता कम्पनीका लगानीकर्ता भनिएका सुनिल शर्मा आचार्यले आफुहरुलाई १५ बेडको दर्ता भएको अस्पताल भनि झुक्काएर लगानीकर्ता बनाइएको बताएका छन् ।