सुनसरी ४ नम्बर क्षेत्रका १ हजार ३७ घरको फुसको छानो हटाइने

Newslaya Home

सुनसरी ४ नम्बर क्षेत्रका १ हजार ३७ घरको फुसको छानो हटाइने

बुधबार ०५, कार्तिक २०७७

इनरुवा । सुनसरी ४ नं निर्वाचन क्षेत्रमा रहेका १ हजार ३७ गरिब विपन्न परिवारका घरमा लगाएको फुसको छानो हटाइने भएको छ ।

सुनसरी क्षेत्र नं ४ का सासंद ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आफुले निर्वाचित भएपछि गरिब विपन्न परिवारको चुहिने छानो हटाउने प्रतिवद्धता गरेअनुरुप शहरी विकास मन्त्रालयको सहयोगमा जस्तापाता हाल्ने योजना कार्यान्वयन हुने लागेको हो ।

पूर्वअर्थमन्त्री समेत रहेका सांसद कार्कीले भने, ‘४ नं निर्वाचन क्षेत्रमा रहेका तीन वटा नगरपालिका र तीन वटा गाउँपालिकामार्फत संकलन गरिएको लागत विवरणअनुसार प्राप्त संख्याका आधारमा जस्तापाता प्रदान गरिने छ ।’

उनले सुनसरी ४ मा आर्थिक रुपमा समस्या भोग्दै आएकाले घरमा लगाएको खर फुसका छाना हटाउन नसकेका घरपरिवारहरु वर्षाको मौसममा पानी चुहिने र चैत्र बैशाखको हावाहुरीमा आगलागीको समस्या भोग्दै आएकाले आफुले मन्त्रालयमार्फत योजना प्रस्ताव गरि मंसिरभित्र छाना लगाउने कार्य पुरा गर्न लागिएको बताए ।

जनता आवास कार्यक्रमअन्तर्गत जिल्ला समन्वय समितिसँग सम्बन्धित नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष बिचको बैठकपछि योजना कार्यान्वयन गर्न दशैँ पछाडि सबैका घरमा छानो लगाउन सुरु हुने कार्कीले बताए ।

सुनसरी ४ नं निर्वाचन क्षेत्रको बराहक्षेत्रमा २ सय २९ घरपरिवार, रामधुनी नगरपालिकाको ४ नं वडामा ९२ घरपरिवार, इनरुवा नगरपालिकामा १ सय ८ घरपरिवार, भोक्राहा नरसिह गाँउपालिकामा १ सय ९२ घरपरिवार, कोशी गाँउपालिकामा २ सय ९२ घरपरिवार, हरिनगर गाँउपालिकामा १ सय २४ घरपरिवारसहित १ हजार ३७ घरमा रहेको फुसको छानो हटाएर जस्तापाता लगाईनेछ ।