देशभर एकैदिन थप ३ हजार ९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

Newslaya Home

देशभर एकैदिन थप ३ हजार ९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

मङ्गलबार ०४, कार्तिक २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,०९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा देशभरि १३,८६१ वटा नमुना परीक्षण गरिएको थियो।

केही सातादेखि सुरु भएको काठमाडौं उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम मङ्गलबार पनि जारी रह्यो। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये १,७०२ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३९ हजार नाघेको छ।

मन्त्रालयले विगत २४ घण्टामा थप आठ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। योसहित नेपालमा अहिलेसम्म ७६५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभरि २,१०८ सङ्क्रमित रोगमुक्त भए। अहिलेसम्म ९६,६०९ सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ६९.४ प्रतिशत हो।