आज राति मृगशिरा उल्का वर्षा हुने

Newslaya Home

आज राति मृगशिरा उल्का वर्षा हुने

मङ्गलबार ०४, कार्तिक २०७७

काठमाण्डौ । मङ्गलबार(आज) राति मृगशिरा उल्कावर्षाको गतिविधि अत्यधिक देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् ।

हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारिएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्कावर्षा हुने गर्छ ।

मङ्गलबारको उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा (ओरियनिड मिटियर सावर) नाम दिइएको सोसाइटीले जानएको छ । अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ ।

उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार अक्टोबर २० राति १०ः४५ देखि नै सुरु भइ अक्टोबर २१ को बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ । उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ । अत्यधिक उल्का वर्षाको बेला प्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान छ ।

पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्दछ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको त्यो कक्षको नजिक आइपुगेका बेला धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिने सोसाइटीले जनाएको छ । उल्का वर्षालाई ‘तारा खसेको’ पनि भनिन्छ ।