सबै स्थानीय तहमा अस्पताल बनाउँदै सरकार, मंसिर १५ गते एकैपटक शिलान्यास गरिने

Newslaya Home

सबै स्थानीय तहमा अस्पताल बनाउँदै सरकार, मंसिर १५ गते एकैपटक शिलान्यास गरिने

मङ्गलबार ०४, कार्तिक २०७७

काठमाडौं । सरकारले सबै स्थानीय तहमा निर्माण गर्न लागेको अस्पताल भवनको शिलान्यास आगामी मंसिर १५ गते एकैसाथ गर्ने भएको छ ।

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच एकैपटक भवन शिलान्यास गर्ने सहमति भएको हो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीबीच भएको बैठकमा यस्तो सहमति भएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले बताए । सरकारले मुलुकभर एकैपटक ३७६ स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकी निर्माण गर्ने महत्त्वाकांक्षी योजना अगाडि सारेको छ ।

एकीकृत योजनाअन्तर्गत प्रादेशिक र संघीय अस्पतालहरुसमेत छन् । मन्त्रालयले १२ सय थान भेन्टिलेटर, ३५ सय थान हाई डिफेडेन्सी युनिट र तीन हजार थान आईसीयूको प्रबन्ध गर्न बजेटको व्यवस्था गर्ने भएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने आईसीयू, एचडीयू, भेन्टिलेटरलगायत मेसिन उपकरण तत्काल खरिद गर्ने गरी तयार भएको कार्ययोजनाबमोजिमको खरिद प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि बढाउने र त्यसका लागि आर्थिक स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउने सहमति पनि भएको छ ।

यस्तै कोभिड खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवश्यक कूटनीतिक र अन्य पहल अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा अगाडि बढाउने भएको छ ।