प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च व्यहोर्ने

Newslaya Home

प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च व्यहोर्ने

सोमबार ०३, कार्तिक २०७७

विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च निरन्तर निःशुल्क व्यहोर्ने घोषणा गरेको छ। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरस संक्रमितको उपचार खर्च उठाउन सरकारले निरन्तरता दिने बताएका हुन्।

प्रदेश सरकारले सुरुवातबाट कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएको छ। मन्त्री घिमिरेले अहिलेसम्म निःशुल्क सेवा दिइरहेको हुँदा आगामी दिनमा पनि सो सुविधा निरन्तर रहने बताएका छन् ।

यस्तै, नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले केन्द्र सरकारले संक्रमितको उपचार खर्चबाट अलगिएको अवस्थामा प्रदेश सरकारबाट आशा गर्ने स्थान नरहेको बताए । तीन वर्षदेखि पिर्काबाट अघि बढेको सरकार अहिले त्यो भन्दा तल पुगेको अवस्थामा संक्रमितको उपचार सरकारले गर्ने विषयमा विश्वास गर्न नसकिने उनको भनाई छ।

आइतबार कोरोना संक्रमितको उपचार खर्च स्वयं बिरामीले व्यहोर्नुपर्ने व्यवस्था लागु गरेपछि प्रदेश १ सरकारले यो निर्णय गरेको हो।

नेकपाको राजनीतिलाई नजिकबाट नियाल्दै आएका राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले अहिलेको अवस्थामा प्रदेश सरकारको भूमिका जनताले खोज्ने बताँउछन् ।

यसका लागि प्रदेश सरकार जिम्मेवार ढंगबाट अघि बढि उपचार, खानपान खर्च लगायतमा निरन्तर लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रदेश सरकारबाट मोरङको सुन्दरहरैचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयमा रहेको आइसोलेसनमा ४२ जना संक्रमितको उपचार, खानपान खर्च सबै प्रदेश सरकारले व्यहोर्दै आएको छ।