‘खनारको वृद्धि र विकास सन्तोषजनक छ, जनता अझै जागरुक हुनुपर्छ’

Newslaya Home

‘खनारको वृद्धि र विकास सन्तोषजनक छ, जनता अझै जागरुक हुनुपर्छ’

सोमबार ०३, कार्तिक २०७७

खनार विकासको गतिमा अघि बढ्दै गरेको बजार हो । पहिलका गाविस थियो । अहिले इटहरीमा गाबिएर उपमहानगर बन्यो । पहिलेको तुलनमा खनारमा निकै विकास भइसकेको छ । यहि विषयमा हामीले खनारका जेष्ठनागरिक तथा समाजसेवि टिका प्रसाद दाहालसँग केही कुराकानी गरेका छौं । आउनुहोस् हेरौँ न्युजलयका लागि रोजिना खतिवडाले गरेका कुराकानीः

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
आजभोलि कोरोनाले गर्दा घरमै बसिन्छ । कसैले समस्या लिएर आए भने समाधान गरिदिन्छु । लकडाउनले गर्दा धेरै समय घरबाट बाहिर निस्कन सकिएन, अब खुकुलो भएपछि पनि उमेरको कारणले गर्दा पनि सार्वजनिक ठाउँमा कम नै जान्छु ।

कोरोना माहामारी र त्यसपछिको आर्थीक संकटलाई कसरी हेर्नु भएको छ ?
यो धेरै ठुलो समस्या हो । अब यसको लागि चाहिँ सम्भव भएसम्म सबै जनताहरु सतर्क भएर आफ्नो कारोबार सञ्चालन गर्नुपर्ने हुन्छ । तर यति लामो समयसम्म सरकारले प्रचारप्रसार गर्दा पनि जनतामा सचेतना छैन । अहिले पनि जनताहरु मास्क नलगाई भिडभाड गरेर हिंडिरहेका छन् । त्यसले गर्दा अब यो अर्थिक पाटो बन्द गरेर पनि समस्या समाधान भएन । अब व्यक्तिहरुलाई सचेत गराउँदै व्यवसायिक क्षेत्र सञ्चालन गर्न दिनुपर्छ ।

सामाजिक क्षेत्रमा साथसाथै तपाईँ व्यवसायिक क्षेत्रमा पनि आवध हुनुहुन्छ भन्ने सुनिन्छ । केकेमा आबद्ध हुनुहुन्छ ?
व्यवसायिक क्षेत्रमा म पहिला चाहिँ आबद्ध थिए । मैले सेलर मिल, हार्डवेयर, ट्रक व्यवसाय सञ्चालन गर्न भनेर यातायत व्यवसायमा पनि हात हाले तर आफूलाई समाजसेवा मै रुचि भएका कारण सामाजिक अभियान्ता भएको कारण ती सम्पुर्ण व्यवसाय सफल भएन । लकडाउनको कारण र उमेरले गर्दा पहिला जस्तो सक्रिय भएर लाग्या छैन । तर अहिले पनि दुई चार वटा संस्थामा काम गर्दै छु ।

वडाबाट जेष्ठ नागरिकको के कस्ता सुविधा पाउनु भएको छ ? र कस्ता सुविधा दिए हुन्थ्यो जस्तो लाग्छ ?
मैले जेष्ठनागरिकको सुविधा लिएको छैन । वार्डबाट र सरकारले गरेका व्यवस्थाहरु जेष्ठ नागरिकका लागि उचित नै छन् । तर कानूनमा जति पनि किसिमका नियमहरु छन् त्यो व्यवहारमा अझै पनि लागू नभइसकेको अवस्था छ । जस्तो यातायातमा, स्वास्थ्यको क्षेत्रमा, सरकारी स्तरको कार्यलयहरुमा जेष्ठ नागरिकलाई प्राथमिक्ताका साथ काम गर्न दिनुपर्छ । वृद्ध भत्ता पनि समयसापेक्ष बढाउँदै जानुपर्ने देखिन्छ । किताबमा लेखेका नियम कार्यान्वयन भैदियो भने जेष्ठनागरिकको लागि राम्रो हुन्छ ।

खनारको विकासलाई कसरी हेर्दै हुनुहुन्छ ? पहिले तपाईँले देखेको खनार र अहिलेको खनारमा के फरक पाउनु भएको छ ?
यो अकाशपातालको फरक छ । म ४० सालदेखि यहाँ स्थायि बसोबास गरेको हो । ४० सालमा यहाँ पिच र ग्राबेल सडक १ किमि पनि थिएन । अब आजको दिनमा यहाँका ८० प्रतिशत बाटा हिउदबर्खामा हिड्न सक्ने, गाडि जानसक्ने अवस्थमा पुगेको छ । यातायातको क्षेत्रमा पनि धेरै प्रगति भएको छ । पहाडबाट आउने क्षेत्री, बाहुनको संख्या न्यून थियो तर अहिले यहाँका आदिवासी
भन्दा पनि बाहिरबाट बसोबास गर्न आउनेको संख्या बढिरहेको छ । उद्योगहरु कुनैपनि थिएनन्, आज आएर ५० औँ उद्योगहरु हाम्रो एरियामा खुलेका छन् । मानिसमा नैतिकताको तुलनामा चाही दिनप्रतिदिन र्हास आइरहेको छ ।

खनारको विकासको लागि कसले के गर्नु पर्ला ?
खनारको विकासको लागि त यहाँका जनताहरु नै सचेत हुनुपर्छ । सबै जनताले एकताको भावना सिर्जना गर्नुपर्छ । यहाँका राजनितिक व्यक्तित्वहरुलाई घच्घचाउनु पर्छ । निर्वाचन भएको बेला योग्य व्यक्तिको छनोट गर्नुपर्छ । अहिलेसम्मको अवस्था चाही सन्तोषजनक नै छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अन्त्यमा जेष्ठनागरिकको सम्बन्धमा भएका नियमहरु कार्यान्वयन हुनुपर्यो, शिक्षमा नैतिकता अनिवार्य समावेश गर्नुपर्छ । नैतिकता बिनाको समाजले कुनैपनि उन्नति गर्न सक्दैन । अनुशासन व्यक्तिको लागि अत्यावश्यक चिज हो र अनुशासन पालना गर्नुतर्फ शिक्षाको माध्यमबाट यसलाई सरकारले प्रभावकारी रुपमा सञ्चालन गरिदियो भने समाजमा अमनचैन कायम गर्नलाई धेरै मद्दत गर्छ ।