यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने

Newslaya Home

यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने

शनिबार ०१, कार्तिक २०७७

काठमाडौँ । यस वर्षको दसैंमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले सर्वसाधारणलाई टीका नलगाइदिने भएको छ । कोरोना भाइरस संक्रमण फैलने उच्च जोखिमका कारण सर्वसाधारणलाई राष्ट्रपति, प्रधानमन्त्रीलगायतले टीका नलगाइदिने भएको हो ।

विगतका वर्षहरुमा राष्ट्रपति र प्रधानमन्त्रीले दुई÷तीन दिनसम्म सर्वसाधारणलाई दसैंको टीका लगाइदिने गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले विगतको जस्तो दसैंको टीका लगाउने कार्यक्रम नराखिएको बताए । उनले आधिकारीक रूपमा यसबारे केही दिनमै जानकारी दिइने बताए ।

विगतका वर्षहरूमा राष्ट्रपतिले उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षानिकायका प्रमुखहरू, संवैधानिक आयोगका प्रमुखहरू लगायत उच्च पदस्थ व्यक्तिहरूलाई दसैंको टीका लगाइदिने गरिन्थ्यो ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पटकको दसैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नरहेको बताइएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयका अधिकारीहरूका अनुसार कोरोनाका कारण यसपटक त्यस्ता कार्यक्रम राखिएको छैन ।

विगतका वर्षहरूमा प्रधानमन्त्री ओलीले तीन दिनसम्म पनि सर्वसाधारणलाई दसैंको टीका लगाइदिने गरेका थिए । यसपटक कोरोनाका कारण उनी उच्च स्वास्थ्य सतर्कता अपनाइरहेका छन् । प्रधानमन्त्रीका सल्लाहकारहरू र स्वकीय सचिवालयमा रहेका व्यक्ति तथा सुरक्षाकर्मीहरूमा कोरोना संक्रमण भएसँगै बालुवाटारमा थप स्वास्थ्य सतर्कता अपनाइएको छ ।