कोरोना संक्रमित बालिकालाई विराटनगरको अस्पतालले गर्‍यो डिस्चार्ज, बाटोमै मृत्यु

Newslaya Home

कोरोना संक्रमित बालिकालाई विराटनगरको अस्पतालले गर्‍यो डिस्चार्ज, बाटोमै मृत्यु

शनिबार ०१, कार्तिक २०७७

इलाम । अस्पतालले डिस्चार्ज गरेको केहि समयमै इलामकी एक बालिकाको मृत्यु भएको छ।

सूर्योदय नगरपालिकाकी–८ वर्षीया बालिकाको अवस्था झनै साह्रो भएपछि विराटनगरको विराट मेडिकल कलेजले डिस्चार्ज गरेको थियो।

चौबिस दिन अघि विराट मेडिकल कलेजमा भर्ना गरिएकी ती बालिकाको दुबै मृगौलाको काम गर्न छोडेको थियो। उनलाई ४ दिन अघि कोरोना पोजिटिभ पुष्टि भएपछि अस्पतालले शुक्रबार साँझ डिस्चार्ज गरेको थियो।

उनका अभिभावकले भने ‘एक दिन राखिदिन अनुरोध गर्दा पनि अस्पतालले मानेन।’ उनको राति ११ बजे घर फर्काउने क्रममा मृत्यु भएको परिवारले जनाएको छ।

कोरोना देखिएपछि पनि चार दिन अस्पतालमै राखिएकी बिरामीलाई शुक्रबार साँझ रोगले झनै चापेपछि अस्पतालले डिस्चार्ज दिएको परिवारले जनाएको छ। डिस्चार्ज दिएको बिरामीलाई कोभिड अस्पतालहरुले समेत बेड नभएको भन्दै राख्न नमानेपछि परिवाले बालिकालाई घरै फर्काएको थियो।

घर फर्कनेक्रममा बालिकाको मृत्यु भएको परिवारले जनाएको छ।