ओखलढुंगामा पोखरीमा हाम फालेर २९ वटा बाँदर मरे

Newslaya Home

ओखलढुंगामा पोखरीमा हाम फालेर २९ वटा बाँदर मरे

शनिबार ०१, कार्तिक २०७७

ओखलढुंगा । सिद्धिचरण नगरपालिका–५ स्थित सानीटारमा शुक्रबार र शनिबार २९ बाँदर पोखरीमा हाम फालेर मरेका छन् ।

शुक्रबार सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेका थिए । स्थानीयले देखेपछि १२ वटा बाँदरको जिवितै उद्धार गरिएको थियो ।

शनिबार फेरि ७ वटा बाँदर पोखरीमा हाम फालेर मरेको स्थानीयले बताए । बाँदरले सँधै अन्नबाली खाएर दुःख दिने क्षेत्र मानिने सानीटारमा ठूलो संख्यामा बाँदरको मृत्यु भएको हो ।

सिंचाइका लागि निर्माण गरिएको ६ फिट गहिरो सिमेन्टको पोखरीमा अन्य समयमा पनि बाँदरले आएर पानी खाने गरेका थिए ।

बाँदरको सामूहिक मृत्यु भएपछि वडाका जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर सद्गत गरेका छन् । शनिबार समेत बाँदर मरेपछि वन डिभिजन कार्यालयका अधिकृतसहितको टोली घटनास्थल खटाइएको छ ।