पेरिसमा टाउको काटेर शिक्षकको हत्या, फ्रान्सेली संसदले भन्यो ‘आतंकवादी आक्रमण’

Newslaya Home

पेरिसमा टाउको काटेर शिक्षकको हत्या, फ्रान्सेली संसदले भन्यो ‘आतंकवादी आक्रमण’

शनिबार ०१, कार्तिक २०७७

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा शिक्षकको हत्या भएको छ । आक्रमणकारीले ती शिक्षकको टाउको काटेर हत्या गरेको बताइएको छ ।

प्रहरीका अनुसार ती शिक्षकले आफ्ना विद्यार्थीलाई ‘चार्ली हेब्डो’ पत्रिकाले छापेको पैगम्बर मोहम्मदको कार्टुन देखाएका थिए।

प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शिक्षकमाथि चक्कुले आक्रमण गरेपछि टाउको काटिदिएको थियो। त्यसपछि मानिसहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले आक्रमणकारीलाई गोली हानी मारेको छ। आक्रमणकारीको नाम भने सार्वजनिक गरिएको छैन। आक्रमण स्थानीय समयअनुसार शुक्रबार साँझ ५ बजे भएको थियो।

फ्रेन्च अखबार ‘ले मोन्दे’ का अनुसार इतिहास र भूगोलका ती शिक्षकले कक्षामा अभिव्यक्ति स्वतन्त्रताका बारेमा पढाउने क्रममा चार्ली हेब्डो पत्रिकाको कार्टुन देखाएका थिए। त्यसपछि यसै महिनाको सुरुवातमा केही मुसलमान अभिभावकले शिक्षकका बारेमा उजुरी गरेका थिए।

फ्रान्सका शिक्षामन्त्री ज्याँ माइकल ब्लेंकरले ट्वीट गर्दै शिक्षकमाथिको आक्रमण फ्रान्समाथिको आक्रमण भएको बताएका छन्। उनले एकता र दृढतासँग मात्र इस्लामिक आतंकवादसँग लड्न सकिने बताएका छन्। राष्ट्रपति इम्यानुअल म्याक्रोंले घटनास्थलको भ्रमण गरेका छन्। फ्रान्सको संसदले पनि मृत शिक्षकप्रति श्रद्धान्जली व्यक्त गर्दै यो घटनालाई ‘आतंकवादी आक्रमण’ भनेको छ।