केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ बजारमा

Newslaya Home

केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ बजारमा

मङ्गलबार २०, असोज २०७७

काठमाडौं । राजनीतिक अभियन्ता एवं लेखक केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ मङ्गलबार (आज) देखि बजारमा उपलब्ध हुने भएको छ । सोमबार विज्ञप्ति जारी गर्दै किताब पब्लिसर्सले मोक्षभूमि मङ्गलबारदेखि बजारमा आउने जानकारी दिएको हो ।

विज्ञप्तिमा, मोक्षभूमिको कथा संवत १२८० बाट सुरु भएको र कथा मुख्यतः मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौं दासहरूको मुक्तिको कथा भएको उल्लेख छ ।

किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकालका अनुसार ‘मोक्षभूमि’ ती मान्छेहरुको सपनाको कथा हो, जसको रगत र पसिनामाथि हाम्रो इतिहास उभिएको छ। तर, स्वयं ती मान्छेहरुको इतिहास भने गुमनाम छ ।

लेखक दाहाल भन्छन्, ‘त्यही गुमनाम कुनामा अलपत्र परेका आदिमान्छेहरुको कथा, गाथा र गरिमालाई मोक्षभूमिमा उनिएको छ । तर यो ऐतिहासिक उपन्यास होइन । यो एउटा खास समय, सत्ता र सपनाको कथा हो ।’

उपन्यास देशैभरका पुस्तक पसलमा साथै अमेजन र थुप्रैडटकम मार्फत् ई–बुकका रुपमा विश्वभर उपलब्ध भएको विज्ञप्ति मार्फत जनाइएको छ ।

वैकल्पिक राजनीति र सामाजिक विषयवस्तुमा नियमित कलम चलाउँदै आएका दाहालको यो पहिलो उपन्यास हो । मोक्षभूमिका लेखक दाहाल साझा पार्टीका संगठन विभाग प्रमुख समेत हुन् ।