नेयमारको गोलमा पीएसजीको सहज जित

Newslaya Home

नेयमारको गोलमा पीएसजीको सहज जित

शनिबार १७, असोज २०७७

काठमाडौं । नेयमारको दुई गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्समाथि ६–१ को जित दर्ता गरेको हो ।

एलेसेन्ड्रो फलोरेन्जीको गोलमा ७ औं मिनेटमा पीएसजीले अग्रता बनाएको थियो । ३६ औं मिनेटमा नेयमारले अग्रता दोब्बर बनाए । उनले केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

दोस्रो हाफको दोस्रो मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । इस्माइल तुरको गोलमार्फत पाहुना टोली एन्जर्सले ५२ औं मिनेटमा खेल ३–१ को स्थितीमा ल्याएको थियो ।

५७ औं मिनेटमा जुलियर ड्रेक्सलरले गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाउने काम गरे । इदरिसा गनाले ७१ औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै पीएसजीलाई ५–१ को अवस्थामा पुर्याएका थिए ।

खेल सकिन ६ मिनेट अघि केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ६–१ को फराकिलो जित दिलाए । पीएसजीले लिगमा लगातार ४ खेलमा जित निकालेको हो । सिजनको सुरुवातमा दुई खेलमा पराजित बन्दै पीएसजीले लिगको खराब सुरुवात गरेको थियो ।

नेयमार दुई खेलको प्रतिबन्ध पुरा गर्दै मैदान फर्किएपछि पहिलो पटक गोल गरेका हुन् । लिग लिडर रेनेस ५ खेलमा अपराजित हुँदै १३ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । पीएसजी १२ अंक जोडेर लिगको दोस्रो स्थानमा छ ।