देशभर थप १२ सय ७ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

Newslaya Home

देशभर थप १२ सय ७ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

शनिबार १०, असोज २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालका विभिन्न जिल्लामा विगत २४ घण्टामा १,२०७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७१,८०० नाघेको छ ।

सो अवधिमा ८ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले शनिबार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा अहिलेसम्म ४६७ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५३,००० नाघेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १,१४७ जना रोगमुक्त भएका छन् ।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् ।

अहिले देशभरि १८,३४१ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये ७,८३३ जना संस्थागत आइसोलेशनमा र अरू १०,५०८ जना घरमै बसेको जानकारी मन्त्रालयले दिएको छ ।

वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ।

विगत २४ घण्टामा १०,०१९ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनका अनुसार अहिलेसम्म नेपालमा ५३,०१३ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७३.८ प्रतिशत हो।