घुस लिएको आरोपमा दमकबाट ४ प्रहरी निलम्बनमा

Newslaya Home

घुस लिएको आरोपमा दमकबाट ४ प्रहरी निलम्बनमा

शनिबार १०, असोज २०७७

झापा । झापाको दमकबाट ४ जना प्रहरीलाई निलम्बन गरिएको छ । मल व्यवसायीसँग पैसाको लेनदेन गरेको भेटिएपछि एक जना असई, हवल्दार, जवान र एक जना ट्राफिक प्रहरीलाई निलम्बन गरिएको हो ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार बिल बिना युरिया मल ल्याउँदै गरेको ट्याक्टर ताराबारी ढाटमा बसेका प्रहरीले समातेका थिए । तर माथिल्लो तहमा खबरै नगरी भोलिपल्टै छाडेका थिए ।

पण्डितले भने, “प्रहरीको चेन अफ कमान्ड उल्लघंन गरेको भनेर निलम्बनमा राखिएको छ, अरू बिस्तृत अनुसन्धानबाट खुल्नेछ ।” असई भरत कोइरालासहित हवल्दार शिवचन्द्र मुखिया, जवान भिमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल निलम्बनमा परेका हुन् ।

भदौ २४ गते बेलुका ताराबारीमा उनीहरूले ट्याक्टर समातेका थिए । उनीहरूले ६५ हजार रुपैयाँ लिएर ट्याक्टर छाडेको आरोप छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।