झापा कारागारका दुई प्रहरीसहित १० जनामा कोरोना पुष्टि

Newslaya Home

झापा कारागारका दुई प्रहरीसहित १० जनामा कोरोना पुष्टि

शुक्रबार ०९, असोज २०७७

भद्रपुर । झापा कारागार भद्रपुरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । शुक्रबारमा कारागारका ७ कैदीबन्दी, एक भान्से र दुई प्रहरी कर्मचारीसहित १० जनामा कोरोना पुष्टि भएको हो ।

कारागारका आइसोलेसनमा बसेका एक कैदी बन्दीमा कोरोना पुष्टि भएसँगै स्वास्थ्यकर्मीको टोलीले असोज ६ गते कारागारका कैदी बन्दी र प्रहरी गरी १७ जनाको स्वाब सङ्कलन गरिएको थियो । मेची अस्पतालमा गरिएको स्वाब परीक्षणमा १७ जनामध्ये एक महिला र ९ पुरुष गरी १० जनाको कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिएका छन् ।

संक्रमण हुनेमा कारागारका ३४, ३६, २८, ७५, २२, ६०, ३२, ३९, २५ र ६० वर्षका कैदीबन्दी र प्रहरी रहेका छन् । कारागारभित्र कोरोना फैलिएपछि स्वास्थ्यकर्मीको टोलीले जाँच कार्यलाई तीव्रता दिएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । भेटघाट बन्द राखिएको कारागारभित्र कसरी कोरोना फैलियो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

संक्रमण पुष्टि भएका कैदीबन्दी र प्रहरीलाई मेची अस्पतालको कोभिड अस्पतालमा पठाइएको छ ।