एकैदिन १३ सयमा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७० हजार नाघ्यो

Newslaya Home

एकैदिन १३ सयमा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७० हजार नाघ्यो

शुक्रबार ०९, असोज २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ सय जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,३१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

सो अवधिमा छ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले शुक्रबार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा अहिलेसम्म ४५९ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५१,८०० नाघेको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १,४५५ जना रोगमुक्त भएका छन्।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

बिहीबार मन्त्रालयले १,४९७ सङ्क्रमित फेला परेको तथा १७ जनाको मृत्यु भएको जनाएको थियो। गत शुक्रबार एकै दिन २,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।

अहिले देशभरि १८,२८९ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ८,२३७ जना संस्थागत आइसोलेशनमा र अरू १०,०५२ जना घरमै बसेको जानकारी मन्त्रालयले दिएको छ।

वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ।

विगत २४ घण्टामा १२,२६२ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। उनका अनुसार अहिलेसम्म नेपालमा ५१,८६६ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७३.४ प्रतिशत हो।

गम्भीर लक्षण भएका बिरामीमध्ये २२७ जना सघन उपचारमा र ३९ जना भेन्टिलेटरमा छन्। अहिले देशभरि ६,४६४ जना क्वारन्टीनमा छन्।