नेपाली समाजमा शिक्षाको अवस्था

Newslaya Home

नेपाली समाजमा शिक्षाको अवस्था

–प्रविण दाहाल
शुक्रबार ०९, असोज २०७७

अहिलेको एक्काइसौँ शताब्दीमा विश्वका जुनसुकै कुनामा पनि शिक्षाको ज्योति छाएको छ, हामी जो कोहि पनि गुणस्तरीय शिक्षा प्राप्त गर्नु र सफल भविष्य बनाउने भनेर सपना देखेका हुन्छौं तर ती सबैको सपना पुरा होला त ? यसमा धेरै तत्वहरुले प्रभाव पार्दछ येउटा व्यक्तिले गुणस्तरीय शिक्षा प्राप्त गर्नको लागि उसको व्यक्तिगत इच्छा शक्ति देखि लिएर परिवारको आर्थिक अवस्था, सम्बन्धित क्षेत्रमा शैक्षिक संस्थाको अवस्था शिक्षकको योग्यता शिक्षानिति साथै सम्बन्धित शैक्षिक संस्थाका नीति नियमले असर गर्दछ ।


जसमध्ये नेपालमा गरिबीले व्यक्तिको गुणस्तरीय शिक्षामा ठूलो प्रभाव पारेको छ । नेपालमा सरकारी सार्वजनिक र निजी शैक्षिक संस्थाहरु छन् जसमा निजी क्षेत्र धनी धनाढ्यहरु को लागि र सार्वजनिक तथा सरकारी शैक्षिक क्षेत्र असक्षम र निम्न वर्गीय परिवारका लागि रहेको पाइन्छ ।

धनी धनाढ्यहरु अथाहा पैसा खर्च गरेर निजी क्षेत्रमा विशेषगरी जुन बोर्डिङ र कलेजमा महंगो शुल्क छ त्यहाँ आफ्ना छोराछोरीलाई भर्ना गर्दछन् । १० वर्ष घोकाएर पढाए त्यसपछि एसइइ एसएलसीको नतिजाका आधारमा समाजमा आफ्नो इज्जत लाई ध्यानमा राखेर ं२रस्नातक तहको लागि विषय छनौट गरी दिन्छन् । विशेषगरी विज्ञान, इन्जिनियरिङ, नर्सिङ सिए इत्यादिमा । यदि कुनै व्यक्तिले चिट चोरेरै भएपनि ए प्लस ल्याएको छ भने साइन्सनै पढ्न पर्छ । उसको इच्छा के हो त्यसलाई पनि ध्यानमा दिँदैनन् छोरा वा छोरीलाई कानुनविद बन्न मन होला जबरजस्ती इन्जिनियरिङ पढ्न बाध्य बनाइन्छ छोराछोरीलाई व्यवसायी बन्न मन होला, जबरजस्ती साइन्स पढ्न बाध्य बनाइन्छ । यदि विज्ञान, नर्स, इन्जिनियरिङ पढ्दिन भन्यो भने छिमेकीको उदाहरण दिन्छन् । ‘फलानोको छोरा त्यो पढ्दै छ, फलानोको छोरी त्यो पढ्दै छे ।’ छोराछोरीलाई जुन क्षेत्रमा पढ्ने इच्छा छैन भने त्यहाँ असफल पक्कै हुन्छन् ।

अनि बल्ल थाहा पाउँछन् जब समय टाढा पुगिसकेको हुन्छ । तर सबै विद्यार्थीमा यस्तो नहुन सक्छ । जति पनि अभिभावकहरुले आफ्नो छोराछोरीको इच्छालाई ध्यान दिएको पाइन्छ त्यति नै यस्तो किसिमको समस्या विरलै हुन्छन् ।

अर्को तिर गरीब निम्न आए भएका परिवारले रोज्ने भनेको सरकारी स्कुल, सरकारी कलेज नै हो । नेपालमा धेरैजसो विद्यार्थीका अभिभावकले सरकारी स्कुल, सरकारी कलेज भन्ने बित्तिकै यहाँ त पढाउन हुँदैन, राम्रो भविष्य बनाउन सकिँदैन ‘सस्तो बेसारले पखाला लाग्छ’ भन्ने खालको अभिव्क्ति दिने गरेका छन् । वास्तवमा अहिलेको शिक्षा प्रणालीमा सरकारी शैक्षिक संस्थाले यसो भन्न सुहाउँदो अवस्था सिर्जना गरिएको छ । स्कुल तहका धेरै विद्यार्थीहरु भन्छन्, ‘सर पढाउँदा पढाउँदै निदाउनु हुन्छ !’ म आफैले पनि स्कुल पढ्दा गणितको हिसाब सिकाउने शिक्षकले उत्तर माला सँग मिलेनमिलेको जाँच गर्दै फरक नजिता आएमा उत्तरमालाकै गलत हो भन्नुहुन्थयो । त्यही हिसाब अर्को गणित विषयको शिक्षक समक्ष देखाउँदा उत्तर मिलेको हुन्थयो । हामीले प्रश्न गथ्र्यौं अर्को सरले निकाल्नु भएको उत्तर सहि हो ? भन्दा त्यसो हुँदैन त्यो गलत छ भन्नुहुन्थयो । त्यो बेला हामीले कुन शिक्षकलाई सहि मान्ने ? हामी त सिकारु हौं । यहाँ शिक्षकको पनि आफू भन्दा जान्ने कोही हुन्न भन्ने घमण्ड हुन्छ । जो आफ्नो गल्ति स्वीकार्दैनन् त्यसको प्रत्यक्ष असर विद्यार्थीले भोग्नु पर्ने हुन्छ ।

प्रायजसो सरकारी विद्यालयका शिक्षक पढाउनै अल्छि गर्ने हुन्छन् । उही शिक्षक निजि विद्यालयमा जाँदा १/२ पटक रिभिजन गर्न समय दिन्छन् । तर त्यही पुस्तक त्यही समयमा सरकारी स्कुल कलेजमा कहिलै पढाएर सक्दैनन् । कतिपय सरकारी स्कुलका शिक्षकहरु आफ्नो छोराछोरी निजी विद्यालय/बोर्डिङ्ग, निजि कलेजमा पढाउँछन् अनि आफू सरकारी तलब खाएर समय बिताइदिन्छन् ।

आम गरीबका छोराछोरीले पढ्ने भनेकै सरकारी विद्यालय हो । त्यसमा पनि गाउँका विद्यार्थीहरु जो उठे देखि ९ बजेसम्म काम गर्ने र हतार हतारमा विद्यालय पुग्ने, विद्यालयमा पढाइ भएमा पढ्ने नभए नभए गलेर पढाइ नभए पनि हुन्थ्यो भन्ने कतिपयको मानसिकता हुन्छ । विद्यार्थीको पढ्ने इच्छा हुँदा हुँदै पनि शिक्षक पढाउनै नआउने, बाहिर घाम तापेर बस्ने जस्ता गतिविधि अझै रहेकै छ । धेरै जसो स्कुल तहका विद्यार्थीलाई शिक्षकसँग बोल्ने, पढाउन आउनु भनेर अनुरोध गर्ने आँट हुँदैन, त्यतिकै समय बिताइ दिन्छन् ।

अझ सरकारी विद्यालयमा गणित र विज्ञान पढ्ने क्रममा जटिल प्रकारका हिसाब जाँच गर्ने तरिका शिक्षकलाई सोध्दा यो परीक्षामा आउँदैन पढ्नु पर्दैन भनिदिनु हुन्थ्यो । ‘विद्यार्थी पनि खुसी सरलाई पनि आनन्द’ दिनको ४ बजे स्कुल छुट्टी हुने बित्तिकै घर पुग्दा आ–आफ्नो काम भाग लागिसकेको हुन्थ्यो । खाजा खाने बित्तिकै काममा लाग्दा कहाँबाट गुणस्तरीय शिक्षा पाउनु ? सहर बजारका सरकारी विद्यालयमा त केही सुधार भएको छ । विद्यार्थीले बसेर बिहान बेलुका पढ्ने मौका पाउँछन् । अभिभावकलाई पनि बसेर राम्रो पढ्नु भन्ने फुर्सद हुन्छ । पढ्दैछन् कि छैनन् भन्ने फुर्सद हुन्छ तर गाउँघरमा पढ् भन्ने समय पनि हुँदैन । परिवारको यति धान रोप्न पाए हुन्थ्यो, छोराछोरी हुर्के अब यति कित्ता खेतबारी थप गर्नुपर्छ, यति मुरी अन्न भित्राउन पर्छ भन्ने योजना हुन्छ । तयसबीचमा शिक्षाको नाम समेत उच्चारण हुँदैन ।

बल्लबल्ल एस.एल.सी./एस.इ.इ. पास गर्यो या मौका पाएर ११/१२ पढ्ने सपना त साकार हुन्थ्यो तर के पढ्ने भन्ने उसलाई थाहै हुँदैन । अलि सम्पन्न परिवारको भए विज्ञान तथा इन्जिनियरिङ, मध्यम तथा निम्न वर्गाीय भए शिक्षा, मानविकी, तथा व्यवस्थापक विषय लिएर अध्ययन गरेको सहजै देख्न सकिन्छ । सरकारी स्कुलमा निःशूल्क पढेको विद्यार्थीले कलेजमा शुल्क तिर्नै पर्ने हुन्छ । आर्थिक अभावको कारण कतिपयको कलेज पढ्ने सपना सपनामा नै सिमित भएका पनि छन् । केही व्यक्ति अब्बल क्षमताको भएरै इन्जिनियरिङ पढ्ने इच्छा हुँदा हुँदै पनि आर्थिक अवस्था कमजोर भएको कारण ऊ बाध्य हुन्छ र इच्छा विपरित अन्य विषय रोज्छ । जहाँ आफ्नो इच्छा नै छैन त्यसैमा उसले कसरी मेहनत गरोस् ? अब उसको पनि बाटो भड्किन थाल्छ । कोही विद्यार्थी कानुनविद बन्ने इच्छाका साथ मानविकी पढ्छु भन्छ, जो योग्य पनि छ तर घरबाट आदेश आउँछ, ‘मेरो छोराले विज्ञान विषय पढेर हाम्रो इजजत राख्छ ।’ अब उसको पनि बाटो भड्कियो ।


कोही विद्यार्थी कमजोर छ उसको अभिभावक प्रतिष्ठित हुन्छ । जुनै उपाय लगाएर भएपनि आफ्नो सन्तानलाई एस.एल.सी./एस.इ.इ मा A वा A+ अनि विज्ञान, इन्जिनियरिङ, टेक्निकल, डक्टर इत्यादीमा जबरजस्ती पढ्न बाध्य बनाउँछन् । बिचरा ! उसको क्षमताले नै धान्दैन, उसलाई पढ्ने मन सम्म हुँदैन । त्यो अवस्थामा उपलब्धि शून्य खर्च अत्याधिक हुने गरेको छ ।
कोही विद्यार्थी शैक्षिक रुपमा कमजोर, परिवार आर्थिक रुपमा कमजोर हुँदा बेलैमा पैसा कमाउन लाग्ने गरेका छन् ।

हातमा सिप छ तर शिक्षा हुँदैन । विदेशिन बाध्य हुने, कसैको घरमा हली बसिदिनु पर्ने तथा गाडीमा खलासी बनेर जीवनयापन गरिरहेका हुन्छन् । उपयुक्त शिक्षाको अभावकै कारण त्यो अवस्थामा दुःख पाइयो भनेर गुनासो गर्नुको कुनै विकल्प हुँदैन ।
कोही विद्यार्थी र अभिभावकबीच घनिष्ठको मेलमिलाप हुन्छ । विद्यार्थीको योग्यता र इच्छा अनुरुप पढ्न दिने र पढ्दिनँ भने पनि अन्य विकल्पको खोजी समेत गर्छन् ।

शैक्षिक क्षेत्रमा सुधारका लागि निम्न कार्यगर्न सके प्रभावकारी बन्न सक्छ :

  • जेजस्तो भएपनि शिक्षकले निजी र सरकारी दुवैलाई बराबर महत्व दिउँ ।
  • सरकारी विद्यालयका शिक्षकले आफ्ना छोराछोरीलाई पनि सरकारी स्कूल कलेजमै पढाउने
  • अभिभावकले छोराछोरीको इच्छालाई कदर गरौं ।
  • विद्यार्थीले आफ्नो इच्छालाई ध्यान दिई मेहनतका साथ अघि बढौं ।
  • सरकारले धनी र गरिब सबै जनताका छोराछोरीले समान शिक्षा पाउने नीति ल्याओस जुनसुकै विधामा पनि निशुल्क पढ्ने व्यवस्था गरोस् ।
  • समाजको भन्दा मेरो छोराछोरी उत्कृष्ट हुन् भन्ने घमण्ड गरेर सन्तानको भविष्यमाथि खेलबाड नगरियोस ।
  • धेरै खर्च गरेमा गुणस्तरीय शिक्षा र कम खर्च गरेमा गुणस्तरहीन शिक्षा पाइन्छ भन्ने सोच सबैमा हटाउने, इच्छा अनुसारको क्षेत्रमा सम्बन्धित विशेषज्ञबाट सल्लाह लिएर अघि बढौं ।

लेखकः जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् ।