आज देशभर झन्डै १५ सय कोरोना सङ्क्रमित थपिए, १७ जनाको मृत्यु

Newslaya Home

आज देशभर झन्डै १५ सय कोरोना सङ्क्रमित थपिए, १७ जनाको मृत्यु

बिहीबार ०८, असोज २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत २४ घण्टामा १,४९७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । तीमध्ये आधा काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन् ।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६९ हजार नाघेको छ ।

सो अवधिमा १७ जनाको कोभिड–१९ का कारण मृत्यु भएको मन्त्रालयले बिहीबार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यो अहिलेसम्म एकै दिन मृत्यु पुष्टि भएको सर्वोच्च सङ्ख्या हो ।

नेपालमा अहिलेसम्म ४५३ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५० हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४५७ जना रोगमुक्त भएका छन् ।

गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् । बुधबार मन्त्रालयले १,१७२ सङ्क्रमित फेला परेको तथा सात जनाको मृत्यु भएको जनाएको थियो ।

गत शुक्रबार एकैदिन २,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो ।