बली दिन लागेको आशंकामा तीन पक्राउ, किशोरीको उद्धार

Newslaya Home

बली दिन लागेको आशंकामा तीन पक्राउ, किशोरीको उद्धार

बुधबार ०७, असोज २०७७

विराटनगर । बली दिनको लागि भारत लाँदै गरेको आशंकामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरेको छ, संलग्न तीन जना पक्राउ परेका छन् ।

सुनसरीको रामधुनी नगरपालिका ५ की १७ वर्षीया किशोरीलाई मोरंग प्रहरीले उद्धार गरेको हो । मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा सप्तरी विष्णुपुर ५ का २८ वर्षीय सुमितकुमार मण्डल, सप्तरीको तिलाठीकैलाडी १ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका ३ घर भएका सुनसरी रामधुनी ५ झुम्काका २२ वर्षीया मनिका ढकाल छन् ।

सुमितले मनिकासँग मिलेर, प्रदीपको सहयोग लिएर ती किशोरीलाई भारत पुर्‍याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए।

सुमितले सिकाए अनुसार मनिकाले आइतबार विहान ७ बजेतिर विराटनगरमा एउटा पूजामा लैजाने र दुई घण्टापछि फर्किएर आउने भन्दै किशोरीकी आमासँग अनुमति मागेकी थिइन् । पाँच हजार रुपैयाँ दक्षिणा दिइने उनले लोभ पनि देखाएकी थिइन् ।

तर विराटनगरबाट पनि भारतर्फको सीमातिर लगेपछि किशोरी सशंकीत भएकी थिइन् । युवतीलाई पूजामा बस्दा कालो लुगा लगाउनुपर्ने र कालो लुगाले छोप्दा डराउन नहुने भन्दै मनिकाले सम्झाएकी थिइन् । बोर्डर कटाएपछि उनलाई एउटा गाडीमा हालेर लगिएको थियो । फारबिसगञ्ज पुुगेपछि मात्र उनले आफू बेचिन लागेको थाहा पाएकी थिइन् ।

चढेको गाढीबाट हाम फालेर नेपालतर्फ आएको बताउँदै उनले बताइन् ।

सुमितका भिनाजु रन्द्धीर मण्डल भारतको सहरसा जिल्लाको झिट्कियामा बसेर निर्माण सम्बन्धी ठेक्का पट्टाको काम गर्ने गरेको खुलेको छ । भिनाजु र उनका भाई वीरेन्द्र मण्डलसँग सम्पर्क गरेर सुमितले किशोरीलाई भारत लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘नेपालबाट फारवेशगञ्ज पु¥याएपछि भिनाजु र उनका भाईको जिम्मा लगाउने तयारी रहेछ,’स्रोतले भन्यो, ‘तर, बीचैमा सम्पर्क टुट्दा नेपाली किशोरीलाई उनीहरुको जिम्मा लगाउन असफल भएको देखिन्छ ।’