नेपाली चियाले पायो अन्तर्राष्ट्रिय ट्रेडमार्क

Newslaya Home

नेपाली चियाले पायो अन्तर्राष्ट्रिय ट्रेडमार्क

बुधबार ०७, असोज २०७७

बिर्तामोड । नेपालका चिया कम्पनिले अन्तर्राष्ट्रिय ट्रेडमार्क प्राप्त गरेका छन् । अब नेपालको अर्थोडक्स चियाले विश्वबजारमा आफ्नै ट्रेडमार्कमा बिक्री वितरण हुनेछ ।

चिया तथा कफी विकास बोर्डले सिफारिस गरेका १२ वटा चिया कम्पनीले ‘ट्रेडमार्क’ पाएका छन् । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ ले तय गरेको मापदण्ड पूरा गरेका कम्पनीले ‘नेपाल टि क्वालिटी फ्रम द हिमालयन’ नामक ट्रेडमार्क पाएका हुन् ।

इलाम, तेह्रथुम र सङ्खुवासभा जिल्लाका अर्थोडक्स चिया उत्पादन गर्ने कम्पनीले ट्रेडमार्क प्रमाण–पत्र पाएका छन् । ट्रेडमार्क पाउने इलामका चिया कम्पनीहरूमा सन्दक्फु टि प्रोसेसर्स, हिमालयन साङ्ग्रीला टी प्रोड्युसर्स, जसबिरे टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट, नेपाल ग्रीन टी एण्ड स्पेसियालिटी, ओएसिस टी इण्डष्ट्रिज, तारा गाउँ टी स्टेट, साखेजुङ हिल रेञ्ज चिया प्रशोधन उद्योग, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था रहेका छन् । यसैगरी तेह्रथुमका बोक्रेडाँडा अग्र्यानिक अर्थोडक्स चिया प्रशोधन उद्योग, सिंहदेवी चिया उत्पादक सहकारी संस्था र सङ्खुवासभाको सगरमाथा टी स्टेटले ट्रेडमार्क प्रमाण–पत्र प्राप्त गरेका छन् ।

यसअघि बोर्डले लोगो प्रयोगका लागि चिया उद्योगी, व्यवसायीबाट माग गरेको निवेदनमा ४२ वटा निवेदन दर्ता भएका थिए । निवेदन दर्ता गराएका उद्योग तथा व्यवसायीको फ्याक्ट्री र चिया बगानको अनुगमन गरी १२ वटा चिया उद्योगलाई लोगो प्रदान गरिएको ट्रेडमार्क अनुगमन, व्यवस्थापन नियमन समितिका उपाध्यक्ष उदय चापागाईंले बताए ।

अहिलेसम्म विश्व बजारमा आ–आफ्नो उद्योगको नाममा चिया निर्यात हुँदै आएकोमा अब राष्ट्रियता झल्कने लोगोसहित पठाउन पाउने भएका छन् । सबै चियामा नेपालको एउटै लोगो लागेर निर्यात हुँदा नेपाली चिया साथै नेपालीको पहिचान विश्व बजारमा स्थापित हुने व्यवसायीको भनाइ छ ।

निर्देशिकामा उल्लेख भएका आचार–संहिता उल्लङ्घन गरेमा उद्योग तथा व्यवसायीले पाएको लोगो खोस्नसमेत सकिने कार्यविधि रहेको छ । लोगो प्रयोग गरेबापत व्यवसायीले प्रतिकिलो ५० पैसा बोर्डमा जम्मा गर्नुपर्छ । उक्त रकम चियाको बजारीकरणका लागि खर्च गरिने प्रावधान छ । यसरी कार्यान्वयनमा ल्याइएको लोगो आफ्नो उत्पादन निकासी हुने देशमा उद्योगी तथा व्यवसायीले दर्ता गराउनु पर्ने झण्झटबाट मुक्ति पाउनेछन् ।