बेलायतमा फेरी बढ्यो कोरोना संक्रमण, बनाइयो नयाँ नियम

Newslaya Home

बेलायतमा फेरी बढ्यो कोरोना संक्रमण, बनाइयो नयाँ नियम

बुधबार ०७, असोज २०७७

लन्डन । कोरोना भाइरस संक्रमण बढेपछि बेलायतले मंगलबारदेखि थप प्रतिबन्ध घोषणा गरेको छ । बिहीबारदेखि पब, बार, रेस्टुरेन्ट तथा हस्पिटालिटी व्यवसाय राती १० बजेभित्र बन्द गरी सक्नुपर्नेछ ।

६ जना भन्दा बढी जमघट गरेको भेटिए वा ‘फेस मास्क’ नलगाउनेलाई २ सय पाउण्ड जरिवाना गरिनेछ । बार स्टाफ, वेटर, पसलका कामदार, सिटमा नबसेका ग्राहकहरुलाई मास्क अनिवार्य गरिएको छ ।

वैवाहिक समारोहमा १५ जनाभन्दा बढीको जमघटमा प्रतिबन्ध लगाइएको छ । अन्त्येष्टिमा भने ३० जना सहभागी हुन पाउने बताइएको छ ।

बुधबारदेखि टयाक्सी ड्राइभर र यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ । ६ जनाभन्दा कम भेला भएर वयस्कहरुको इन्डोर खेल खेल्न पाइनेछ । दर्शक जान पाउने छैनन् ।

कोरोना संक्रमित पोजिटिभ भएकाहरुले ‘सेल्फ आइसोलेसन’ नियम पालना नगरे एक देखि १० हजार पाउण्डसम्म जरिवाना तिर्नुपर्ने नियम बनाएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले दोश्रो लकडाउनको पक्षमा आफू नरहेको तर सरकारको नयाँ नियम पालना नगरे थप कडाइ गर्ने चेतावनी पनि उनले दिएका छन् ।

स्कटल्याण्डमा बुधबारदेखि एक घरका मानिसले अर्को घरका मानिसलाई भेट्न रोक लगाइएको छ भने पब, बार, रेष्टुरेन्टसहित हस्पिटालिटी व्यवसायमा राति १० बजेपछि कर्फयू लगाउने घोषणा गरिएको छ । वेल्स र उत्तरी आयरल्याण्डले पनि उस्तै प्रतिबन्ध घोषणा गरेका छन् ।