युथ अफ खनारद्वारा सुन्दरहरैचाको सुकुम्बासी परिवारलाई खाद्यान्न वितरण

Newslaya Home

युथ अफ खनारद्वारा सुन्दरहरैचाको सुकुम्बासी परिवारलाई खाद्यान्न वितरण

मङ्गलबार ०६, असोज २०७७

इटहरी । युथ अफ खनारले मोरङको सुन्दरहरैचा–१० सुकुम्बासी बस्तीका एक टुहुरो परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । केही दिनअघि आम्दानीको बाटो बन्द भएर परिवारमा भोकमरी लागेपछि स्थानिय ४७ वर्षीय अशोक दर्जीले आत्महत्या गरेका थिए । सोही परिवारलाई युथ अफ खनारका सक्रिय सदस्यहरुबाट केही रकम संकलन गरी राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको संस्थाका संयोजक पिन्टु शाहले जानकारी दिए ।

आफूहरुले दर्जी परिवारको बारेमा थाहा पाएपछि केही सहयोग स्वरुप ५० केजी चामल, ५ लिटर तेल, ५ केजी गेडागुडी, ५ केजी चिनि, ५ केजी पिठो, ५ केजी नुन, ५ केजी चिउरा, १० केजी आलु, आधा दर्जन नुवाउने साबुन र आधा दर्जन लुगा धुने साबुन वितरण गरिएको उनले बताए ।

आफूहरु खाद्यान्न बोकेर जाँदा दर्जी परिवार निकै खुसी भएको उनको भनाइ छ ।

विदेश जान भनी हिडेकी मृतककी श्रीमति दिलमाया दर्जी भने दिल्ली मै अलपत्र परेकी थिइन् । उनलाई महिला सञ्जालले उद्धार गरेको थियो । अहिले आमासहित ३ छोरी र १ जना छोरा छन् । जसमध्य माहिली छोरी सन्जु दर्जी भने अपाङ्ग छिन् । जेठी छोरीको भने विवाह भैसकेको छ ।

दर्जी परिवारको आर्थिक अवस्था निकै कमजोर छ । उनीहरुलाई भने छिमेकीले साथ र सहयोग दिइरहेको दिलमायाले बताइन् ।

छिमेकी दिपेन जोगीका अनुसार दर्जीको मृत्यु भएको बेला उनको छातीमा राख्नको लागि घरमा एक गेडा अन्न समेत थिएन । छिमेकी, वडा कार्यलय र विभिन्न संस्थाको सहयोगमा दर्जीको १३ दिने काम सम्पन्न गरिएको उनले बताए । साथै उनले यस परिवारको सहयोगको लागि आफूहरुले पनि विभिन्न संस्थाहरुसँग पहल गरेको बताए ।

युथ अफ खनारले यसअघि पनि विपन्न परिवारलाई सहयोग गरिसकेको छ । साथै खनारमा मास्क बैंक सञ्चालनमा पनि ल्याएको छ र आगामी दिनमा पनि यस्ता थुप्रै सामाजिक काम गर्ने युथ अफ खनारका सहसंयोजक जेनिश दाहालले जानकारी दिए ।