साउदी दूतावासले नेपाली श्रमिकका लागि बिहीबारदेखि भिसा जारी गर्ने

Newslaya Home

साउदी दूतावासले नेपाली श्रमिकका लागि बिहीबारदेखि भिसा जारी गर्ने

मङ्गलबार ०६, असोज २०७७

काठमाडौं । साउदी अरेबियाको काठमाडौँस्थित दूतावासले नेपाली श्रमिकका लागि बिहीबारदेखि भिसा जारी गर्ने भएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले नेपालस्थित साउदी दूतावासले बिहीबारबाट भिसाको काम सुरु हुने जानकारी दिए ।

कोरोना महामारीका कारण रोकिएको वर्किङ भिसा, भिजिट भिसा र पुनः प्रवेशको भिसाको प्रक्रिया सुरु गर्न लागेको हो । भिसा प्राप्तिका लागि पहिलेकै प्रक्रिया यथावत् रहेको समेत महासचिव श्रेष्ठले जानकारी दिए ।

यसअघि बलबहादुर तामाङको स्काइ ओभरसिजले भिसाको प्रक्रियाका लागि आफ्नो म्यानपावर कम्पनीले मात्रै अनुमति पाएको दाबी गरेको थियो । तर मंगलबार दूतावासका कन्सुलरसँग कुरा गर्दा त्यो गलत भएको भन्ने पुष्टि भएकाले तामाङलाई संघले स्पष्टीकरण सोध्ने महासचिव श्रेष्ठले बताए ।

पूर्वअध्यक्ष समेत रहेका तामाङले पुनः सिन्डिकेट लगाउन चलखेल गरेको भन्दै कुनै पनि बहानामा हुने सिन्डिकेट व्यवसायीले नस्वीकार्ने श्रेष्ठको भनाइ छ ।