उपचार नपाएर मृत्यु भएकी झापाकी एक बृद्धामा कोरोना पुष्टि

Newslaya Home

उपचार नपाएर मृत्यु भएकी झापाकी एक बृद्धामा कोरोना पुष्टि

मङ्गलबार ०६, असोज २०७७

झापा । उपचार नपाएर मृत्यु भएकी झापाकी एक बृद्धालाई कोरोना संक्रमण पुष्टि भएको छ। झापाको मेचीनगर–५ की ७२ वर्षीया बृद्धालाई उपचारका लागि धरानस्थित बिपी प्रतिष्ठान लगिएको थियो। त्यहाँ उपचार हुन नसक्दा आइतबार राति मृत्यु भएको हो।

श्वासप्रस्वासमा समस्या भएपछि उनलाई झापाकै बिर्तामोडस्थित कनकाई अस्पताल भर्ना गरिएको थियो। असोज १ गते अस्पताल भर्नाकी बृद्धाको तीन दिनसम्म उपचार भएको थियो। उनको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएपछि कन्काई अस्पतालले धरान लग्ने सल्लाह दिएको थियो।

त्यहिअनुसार उनीलाई आइतबार नै धरानस्थित बिपी प्रतिष्ठानमा लगेका थिए। तर, धरानमा तीन घन्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि स्वास्थ्य थप कमजोर बन्दै गएको र मृत्यु भएको परिवारजनले बताएका छन्।

उनको मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। सोमबार साँझ आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ।