सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

Newslaya Home

सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

आइतबार ०४, असोज २०७७

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न यूएई पुगेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो सिजन खेल्न क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेर सन्दीप सोमबार राती संयूक्त अरब इमिरेट्स (यूएई) पुगेका थिए । आइपिएलको नियम अनुसार एक दिनको अन्तरमा तीन पटक कोरोना परिक्षण गराएपछि रिपोर्ट नेगेटिभ आएमा खेलको लागि उपलब्ध हुन पाइने छ ।

सन्दीपको तीन वटै रिपोर्ट नेगेटिभ आएको सन्दीपको व्यवस्थापन हेर्दै आएका राष्ट्रिय क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिकाकोटीले बताएका छन् । योसँगै आज बेलुका हुने किंग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा सन्दीप दिल्लीको टोलीमा छनोटका लागि उपलब्ध हुने छन् । पञ्जाब र दिल्लीबीचको खेल बेलुका ७ः४५ पछि दुबईमा हुने छ । सन्दीप शनिबार दिल्ली टोलीसँग अभ्यासमा सामेल भएका थिए ।

दिल्लीले सन् २०१८ मा सन्दीपलाई ३२ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो । दिल्लीले सुरुवाती खेलमा मौका भने दिएन । दिल्ली लिग चरणबाट बाहिरिएपछि अन्तिमका तीन खेलमा मौका दिएको थियो । तीन खेलमा सन्दीपले पाँच विकेट लिएका थिए । सन् २०१९ मा दिल्लीले सन्दीपलाई ६ खेलमा मौका दिँदा ८ विकेट लिएका थिए । तीन वर्षे सम्झौता अुनसार सन्दीपको यो दिल्लीमा अन्तिम सिजन हो ।