आइपिएलमा चेन्‍नईको विजयी सुरुवात

Newslaya Home

आइपिएलमा चेन्‍नईको विजयी सुरुवात

आइतबार ०४, असोज २०७७

काठमाडौं । शनिबारदेखि सुरु भएको १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा चेन्‍नई सुपर किङ्स विजयी भएको छ । अबुधाबीमा भएको खेलमा चेन्‍नईले साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हरायो ।

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्‍विन्टन डिककले ३३ रन बनाए । चेन्‍नईका लुंगी एंगिडीले ३ विकेट लिए भने दीपक चहर र रविन्द्र जडेजाले २(२ विकेट लिए ।

जवाफमा १६३ रनको लक्ष्य पछ्याएको चेन्‍नईको सुरुवात राम्रो नभएपनि मध्यक्रमका खेलाडी अम्बाती रायडु र फाफ डुप्लेसीले राम्रो साझेदारी गरेपछि चेन्‍नईको जीतको आधार तय भएको थियो । चेन्‍नईले ४ बलको खेल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । रायडुले ७१ रन बनाए भने डुप्लेसी ५८ रनमा अविजित रहे । मुम्बईका बोल्ट, प्याटिन्सन, बुमराह, राहुल चहर र क्रुनाल पन्ड्याले १(१ विकेट हात पारे ।

मुम्बईले २०१२ देखि आइपिएलको पहिलो खेलमा जीत हात पार्न सकेको छैन । जीतसँगै चेन्‍नई २ अंक जोड्न सफल भएको छ ।