आज संविधान दिवस, प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने

Newslaya Home

आज संविधान दिवस, प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने

शनिबार ०३, असोज २०७७

काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।

इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।

दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना हुँदै छ । सो विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुने बताइएको छ ।

सो विशेष समारोहबाट प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका पे्रस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिमका कारण सीमित सहभागीतामा संविधान दिवस मनाउन लागिएको हो । अघिल्ला वर्षहरुमा मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि, कर्मचारी, कलाकार लगायत पनि सहभागी हुने गरे पनि यस वर्ष उनीहरुलाई समारोहमा बोलाइएको छैन ।

सरकारले घरमै बसेर राष्ट्रिय झण्डा फहराउँदै संविधान दिवस मनाउन सबै नेपालीलाई आह्वान गरेको छ ।