राहतका लागि किनिएको चामल कानुन विपरित बिक्री गरेपछि....

Newslaya Home

राहतका लागि किनिएको चामल कानुन विपरित बिक्री गरेपछि....

शनिबार ०३, असोज २०७७

विजयपुर । तेह्रथुमको लालीगुराँस नगरपालिकाले कोरोना महामारीका बेला विपन्न समुदायलाई वितरण गर्न खरिद गरेको राहत (चामल) कानुन विपरित बिक्रि गरेपछि नगरपालिका विवादमा तानिएको छ ।

कोरोना महामारीका कारण समस्यामा परेका नगरवासीलाई वितरण गर्न गत जेठ र असारमा २५ केजीको प्रतिबोरा ११ सय रुपैयाँका दरले १ हजार ७ सय ३५ बोरा चामल खरिद गरिएको थियो । त्यसमध्ये १ हजार ४ सय ६९ बोरा वितरण गरेर बाँकी रहेको २ सय ६६ बोरा चामल प्रतिबोरा ५ सय रुपैयाँका दरले बिक्री गरिएपछि विवाद उत्पन्न भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लालिगुँरास नगर कमिटिले विज्ञप्ति जारी गर्दै लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबू माबोहाङले भाद्र २१ गते कुनै सार्वजनिक सूचना नै नगरी कानुन विपरित केहि व्यापारी तथा व्यक्तिहरुलाई कम मुल्यमा चामल बिक्रि गरेको उल्लेख गरेको छ ।

नेकपाका नगर कमिटि अध्यक्ष खड्काले नगरमा दाखिला भएको चामल आर्थिक कार्यविधी ऐन अनुसार सार्वजनीक सुचना आह्वान गरी टेन्डर प्रकृया मार्फत विक्री गर्नु पर्नेमा त्यसो नगरिएको बताए ।

चामल विक्री गरिएको विषय विवादमा परेपछि नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले ध्यानकर्षण पत्र सार्वजनिक गर्दै गोदाममा भन्डारण गरिएको चामल प्रतिकुल मौसमका कारण बिग्रिँदै गएपछि नगरसभाबाट निर्णय गरेर पशु पंक्षीलाई चारो र खोले खुवाउनका लागि बिक्री गरिएको उल्लेख गरेका छन् ।

यता नगर प्रमुख अर्जुनबाबू माबोहाङले पहिलो चरणमा राहत लिन आएका सबैलाई वितरण गरेपछि गोदाममा बाँकी रहेको २ सय ६६ बोरा चामल विक्रि गरेको स्विकार गरे । उनले उक्त बिक्रिबाट आएको रकम विपद् व्यवस्थापन तथा न्युनिकरण कोषमा बचत गरेको बताए ।