नेपालको आफ्नै दुईवटा रेल जनकपुर आइपुग्यो

Newslaya Home

नेपालको आफ्नै दुईवटा रेल जनकपुर आइपुग्यो

शुक्रबार ०२, असोज २०७७

काठमाडौं । नेपाल आफैंले खरिद गरेका दुई वटा रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर आइपुगेको छ ।

भारतको सरकारी कम्पनी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेका नयाँ दुई सेट रेल शुक्रबार दिउँसो जनकपुरधाम ल्याइएको हो ।

नेपाल आइपुगेका दुवै रेल ५–५ डिब्बाका हुन्। एउटा रेलमा एकैपटक १३०० जनाले यात्रा गर्न सक्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

नेपालले जयनगर–जनकपुरको ३४ किलोमिटर खण्डमा सञ्चलन गर्ने गरी दुई रेल खरिद गरेको हो । चेन्नईको कोंकर्ण रेल्वे कर्पोरेसनसँग किनेको दुई वटा रेल नेपाल भित्रिएको भएपनि कोरोना भाइरसका कारण नियमित सेवा भने तत्काल नहुने नेपाल रेल्वे कम्पनीले जानकारी दिएको छ ।

नेपाल सरकारले रेल औपचारिक रूपमा नेपाल भित्रिएको र त्यसको स्वागत मात्रै गरिएको रेल विभागले जनाएको छ ।

रेल दशैं अगाडि नै नियमित रूपमा सञ्चालनका लागि भारतसँग छलफल गरी आवश्यक मोडालिटी तय गर्ने काम रेल विभागले गरिरहेको छ । भारत सरकारको सहयोगमा बनेको जयनगर–जनकपुर–बर्दिबासको ६९ किलोमिटर अन्तर्गतको पहिलो खण्डको रेलमार्गमा रेलसेवा सञ्चालन हुनेछ । पहिलो चरणमा जयनगर–जनकपुरमा रेल सञ्चालन गरिन लागेको हो ।

वि.सं २०६७ मा भारत सरकारले यो रेलमार्गको ‘ब्रोडगेज’ पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्दता जनाएको थियो सोही अनुसार रेलमार्ग मर्मत गरेर पुनः रेल सेवा शुरू गर्न लागिएको हो । जनकपुरदेखि महोत्तरीको बिजलपुरासम्मको खण्डमा भने पूर्वाधार निर्माण भइरहेको छ ।