बलात्कारको उजुरी गर्न नपाएपछि किशोरीद्वारा आत्महत्या, मिलाउन खोज्ने तीन पक्राउ, आरोपित फरार

Newslaya Home

बलात्कारको उजुरी गर्न नपाएपछि किशोरीद्वारा आत्महत्या, मिलाउन खोज्ने तीन पक्राउ, आरोपित फरार

बुधबार ३१, भदौ २०७७

सप्तरी । सप्तरीमा एक किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारको उजुरी गर्न गाउँलेले रोक लगाएपछि डाकनेश्वरी नगरपालिकाकी १७ वर्षकी किशोरीले आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

सोमबार बिहान धानखेतमा पानी हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । उजुरी गर्न प्रहरी कार्यालय जान खोज्दा गाउँलेको भेला बसी रोकेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् ।

गाउँलेको भेलाले आरोपितबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेको थियो । घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक खड्काको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ ।

बलात्कारका चार आरोपित फरार भएका छन् । प्रहरीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउनेमध्ये जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई पक्राउ गरेको छ ।