असोज १ बाट लामो दूरीका यातायात र आन्तरिक उडान खुल्ने

Newslaya Home

असोज १ बाट लामो दूरीका यातायात र आन्तरिक उडान खुल्ने

मङ्गलबार ३०, भदौ २०७७

काठमाडौं । सरकारले लामो दूरीका सवारी तथा आन्तरिक उडान सञ्चालन गर्न दिन निर्णय गरेको छ ।

भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात र आन्तरिक उडान खुल्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ ।
यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एक जनामात्र यात्रु बस्नु पर्नेछ । यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ ।

यससम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने मन्त्री ज्ञवालीले जानकारी दिए ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।