गुणस्तरहीन स्यानेटाइजर उत्पादन गर्ने सुनसरीको एउटा उद्योगलाई कारवाही

Newslaya Home

गुणस्तरहीन स्यानेटाइजर उत्पादन गर्ने सुनसरीको एउटा उद्योगलाई कारवाही

मङ्गलबार ३०, भदौ २०७७

इनरुवा । औषधि व्यवस्था विभाग विराटनगरले सुनसरीको नरसिङ गाउँपालिका–४ स्थित ‘सीता हर्बल केमिकल उद्योग’ लाई कारवाहीको प्रक्रिया थालेको छ । उद्योगले उत्पादन गर्ने सेनिटाइजर मापदण्ड विपरीतको रहेको पाइएपछि विभागले कारबाही थालेको हो ।

सो उद्योगले मापदण्ड विपरीतको ‘मिथानोल स्प्रिट’ हालेर सेनिटाइजर उत्पादन गरी बिक्री गरेको पाइएको नेपाल औषधि व्यवस्था विभाग विराटनगर शाखाका प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिए । हानिकारक वस्तु हालेर सेनिटाइजर उत्पादन गरेपछि उद्योग बन्द गर्न निर्देशन दिएको उनले बताए । सीता हर्बलका सञ्चालक उमानन्द यादव हुन् । यादवको उद्योगले उत्पादन गरेको सेनिटाइजर मोरङ र सुनसरी पठाउने गरेको बताएका छन् ।

मिथानोल प्रयोग गरेको सेनिटाइजरले स्वास्थ्यमा असर गर्ने विभागले जनाएको छ । विषाक्त पदार्थ मिसाउने उद्योगलाई औषधि ऐन, उपभोक्ता हित संरक्षण ऐन र जनस्वास्थ्य ऐनअन्तर्गत क्षतिपूर्ति सहितको जरिबाना गर्नुका साथै उद्योग बन्द गर्ने तयारी गरेको विभागले जनाएको छ ।

७० देखि ८० प्रतिशत इथानोल हालेर सेनिटाइजर बनाउनुपर्नेमा सीता हर्बल केमिकल उद्योगले उत्पादन गरेको सेनिटाइजरमा बढी देखिएको छ । जसले छालामा असर गर्दछ ।