जापानी प्रधानमन्त्रीमा योसिहिदे सुगा बन्ने निश्चित

Newslaya Home

जापानी प्रधानमन्त्रीमा योसिहिदे सुगा बन्ने निश्चित

मङ्गलबार ३०, भदौ २०७७

बीबीसी । जापानको सत्तारूढ पार्टीले सिन्जो आबेपछि योसिहिदे सुगालाई आफ्नो नयाँ नेता चुनेको छ । यसले सुगा नै नयाँ प्रधानमन्त्री हुने निश्चितजस्तै भएको छ । प्रधानमन्त्री आबेले स्वास्थ्य स्थिति खराब भएका कारण गत महिना राजिनामा दिएका थिए । ७१ वर्षीय सुगा आबेका नजिकका व्यक्ति मानिन्छन् ।

त्यसकारण उनले आबेकै नीतिलाई अगाडि बढाउने आशा गरिएको छ । नेता छान्न मतदान भएको थियो । आफ्नो पार्टीका सांसद र क्षेत्रीय प्रतिनिधिसमेत गरी ५ सय ३४ मा उनले ३ सय ७७ मत पाए । उनका प्रतिस्पर्धीमा पूर्वपरराष्ट्र मन्त्री फुमियो किसिदा र लिबरल डेमोक्य्राटिक पार्टीका पूर्वमहासचिव तथा पूर्वरक्षामन्त्री सिजेरु इसिबा थिए । सांसदबीच बुधबार मतदान हुने कार्यक्रम छ ।
पार्टीको बहुमत हेर्दा उनी प्रधानमन्त्री बन्ने निश्चित देखिन्छ ।

उनी स्ट्रबेरी किसानको परिवारमा जन्मिएका हुन् । उनले टोकियोस्थित होसेई विश्वविद्यालयबाट स्नातक गरी संसदीय चुनाव अभियानमा काम गर्न थालेका थिए । उनले लिबरल डेमोक्य्राटिक पार्टीको एक सांसदको सचिवका रूपमा काम गरे ।
त्यसपछि उनले आफ्नै राजनीतिक यात्रा सुरु गरे । उनी सन् १९८७ मा योकोहामा सिटी काउन्सिलमा चुनिएका थिए । सन् १९९६ मा पहिलो पटक जापानको सांसद पदमा विजयी भएपछि उनको राजनीतिक यात्रा रोकिएन ।