महिला वैज्ञानिक, जसले देखिन्, चिम्पान्जीहरु बिचको चार वर्ष लामो युद्ध

Newslaya Home

महिला वैज्ञानिक, जसले देखिन्, चिम्पान्जीहरु बिचको चार वर्ष लामो युद्ध

शनिबार ०६, भदौ २०७७

बिबिसि । जेन गुडवलले चिमपान्जीका बारेमा ६ दशक अध्ययन गरिन्।

उनले तिनीहरू कति कोमल हुनसक्छन् भन्ने देखिन् तर तिनीहरूको क्रूरता देखेपछि मात्रै उनलाई चिम्पान्जीहरू मानवसँग मिल्दोजुल्दो रहेको अनुभव भयो।

“तिनीहरूले हामीलाई चुम्बनसहित स्वागत गर्छन र अङ्गालो हाल्छन् र एकअर्कालाई आश्वस्त पार्न धाप मार्छन्। तिनीहरूले हात समाउँछन्। तिनीहरू एक अर्कालाई छोएर डर वा तनाव कम गर्न खोज्छन्। तिनीहरू धेरै हदसम्म हामीजस्तै छन्।”

चिम्पान्जी बारेकी विश्वकी अग्रणी विज्ञ गुडवल मानव प्रजातिको सबैभन्दा नजिकको नातेदारजस्तो देखिने अर्को जनावर चिम्पान्जीलाई यसरी सम्झिन्छिन्।

तर उनको बुझाइ त्यतिमा मात्रै सीमित छैन।

उनले भनिन्, “यो अलिकति आश्चर्यजनक पनि रह्यो कि तिनीहरू क्रूर पनि हुनसक्छन् र लडाँइसमेत घोषणा गर्न सक्छन्। तिनीहरू स्वार्थ माया गर्न सक्छन्। तिनीहरूमा प्रकृतिका दुवै पक्ष छन्।”

मानव र चिम्पान्जीका लगभग ९८ दशमलव ६ प्रतिशत डीएनए मिल्छ तर विश्वलाई सन् १९६० मा ब्रिटेनकी वैज्ञानिक गुडवलले पश्चिमी तान्जनियाको गोम्बे नपुगेसम्म यो कुरा थाहा थिएन।

चिम्पान्जीका व्यवहार
गुडवलले कसरी आफ्नो छ दशकको लगनले बाँदरहरूलाई हेरविचार गर्ने अवस्थामा विश्वलाई ल्याएको र उक्त प्रजातिले मानव हुनुको अर्थ बुझ्न मद्दत गरिरहेकोबारे बीबीसीसँग कुरा गरेकी छन्।

सन् १९६५ मा न्याश्नल जीओग्राफिक म्यागजीनको गातामा प्रस्तुत गरिएपछि गुडवलले प्रसिद्धि कमाइन्।

‘मिस गुडवल एण्ड द वाइल्ड चिम्पान्जीज’ नामक वृत्तचित्रको उनी केन्द्रीय पात्र थिइन् र यो अनि अरू चलचित्र, समाचार र म्यागजीनका लेखहरू र पुस्तकहरूले विश्वका लाखौँ मानिसलाई जङ्गली चिम्पान्जीको सामाजिक र भावनात्मक जीवनबारे परिचित गरायो।

उक्त वृतचित्रमा गुडवल खाली खुट्टै घना जङ्गलमा हिँडिरहेको र बच्चा चिम्पान्जीहरूसँग खेलिरहेको तथा भिडिरहेको देखिन्छ।

वृत्तचित्रले उनको काम एकदमै प्रेमिलजस्तो देखाए पनि आफूले सत्य उजागर गर्न सङ्घर्ष गर्नुपरेको उनी सम्झन्छिन्।

“म शिकारी हो कि जसरी उनीहरूले मलाई व्यवहार गरेका थिए,” गुडवलले चिम्पान्जीहरू आफूप्रति आक्रामक भएको सम्झना गर्दै भनिन्।

चिम्पान्जीहरूले आफूलाई देखेर दाह्रा किटेको र रौँ ठाडा बनाएको उनको भनाइ छ।

“त्यो डरलाग्दो थियो,” चिम्पान्जीहरू आफूभन्दा धेरै बलियो रहेको जानकारी भएको भन्दै उनले आफ्नो डरलाई दबाएको सुनाइन्।

“मलाई एउटा चिम्पान्जीसँग केही नजिक हुन चार महिना लाग्यो र त्यसैसँगै बस्न एक वर्ष लाग्यो। तिनीहरूले ९म जस्तो० अनौठौ सेतो बाँदर देखेका थिएनन्।”

यसरी साथी बनाइन्
त्यसपछि उनले उक्त समूहका प्रत्येक चिम्पान्जीलाई साथी बनाइन् र केहीलाई नाम पनि दिइन्।

डेभिड ग्रेबिअर्डले आफूबाट केरा लिने गरेको भन्दै उनले त्यसको आफूले स्याहार गरेको र अर्को चिम्पान्जीले आफूसँग खेल्ने गरेको सम्झिइन्।

चिम्पान्जीहरूले निकाल्ने आवाजको फरक छुट्ट्याउन उनले सिकिन् र तिनीहरूले कसरी मौखिक रूपमा कुराकानी गर्छन् भन्ने थाहा पाइन्। मानव अन्तरक्रिया र चिम्पान्जीहरूको संवादबीचको समानता र फरकले उनलाई थप आकर्षित गर्‍यो।

उनका अनुसार चिम्पान्जीहरू बिदा मागेर हिँड्दैनन् सिधै आफ्नो गन्तव्यमा जान्छन्।

उनले एउटा पुरुष चिम्पान्जी नृत्यमा झुमिरहेको र नाबालक चिम्पान्जी आमासँग झुम्मिएको देखिन्। उनले चिम्पान्जीहरूको विभिन्न सामग्री बनाउने क्षमता देखिन्।

प्राज्ञहरूको फरक मत
क्यामब्रीज विश्वविद्यालयमा विद्यावारिधि गर्न फर्कँदा ब्रिटेनको प्राज्ञ समुदाय उनको शैली र खोजप्रति सशङ्कित थियो।

“मैलै उनीहरूमा मानवको जस्तो स्वभाव भएको, समस्या समाधान गर्ने क्षमता सहितको मस्तिष्क भएको र अझ भावना भएको कुरा गर्न पाउँदैथेँ,” उनले भनिन्।

ती स्वभाव मानिसमा मात्रै भएको ठानिन्थ्यो। प्राध्यापकहरूले चिम्पान्जीको नाम होइन् सङ्ख्या हुनुपर्छ भनेर भन्ने गरेको सम्झँदै उनले धेरै प्राध्यापकहरूले उनले सबै कुरा गलत गरेको बताएको उल्लेख गरिन्।

तर गुडवलले विश्वलाई चिम्पान्जीबारे साक्षर बनाउन अद्भभूत सफलता पाएरै छाडिन्।

वास्तविक जीवनमा कहिल्यै पनि चिम्पान्जी नदेखेका व्यक्तिहरूले पनि उक्त जनावरप्रति माया दर्शाउन थाले।

उनले तान्जनियामा अध्ययन गरिरहेको समूहकी माऊ चिम्पान्जीको जब सन् १९७२ मा निधन भयो, द टाइम्स अखबारले समवेदना छाप्यो।

दुई वर्षपछि थप चिम्पान्जीहरू मरे। “केही पोथी चिम्पान्जीबाट सानो सङ्ख्यामा भालेहरू छुट्टिए र तिनीहरूले सबैले पहिला भोगचलन गर्दै आएको क्षेत्रको दक्षिणमा कब्जा जमाए।”

चिम्पान्जीहरूमा आफ्नो पकड देखाउनुपर्ने उपल्लोदेखि तल्लोसम्मको वरियताक्रम हुन्छ र उक्त समूहमा पुरूष धेरै भएकाले विभाजन निश्चित थियो। त्यसपछिको घटनाक्रम अझ आश्चर्यजनक छ।

दुई समूहबीचको सम्बन्ध एकदमै बिग्रियो र ठूलो समूहमा रहेका भाले चिम्पान्जीहरूले सानो समूहका भालेहरूलाई एकएक गर्दै हमला गर्न थाले र चोटका कारण तिनीहरूको मृत्यु हुन थाल्यो।

“आफूसँगै खेलेका र आफूले नै हुर्काएका ती चीम्पान्जीको हत्या एकदमै भयावह थियो। तिनीहरूले पाएका चोट पनि डरलाग्दा थिए,”उनी सम्झिन्छिन्।

गुडवलले गृहयुद्धसँग तुलना गरेको त्यो लडाइँ चार वर्ष चल्यो। “मलाई लाग्थ्यो उनीहरू हामीजस्तै असल छन्। तर मलाई उनीहरू हामीजस्तै रहेछन् भन्ने अझ महसुस भयो जब मैले उनीहरूको क्रूर पक्ष पनि देखेँ।”

वैज्ञानिकबाट संरक्षणकर्ता
त्यसको एक दशकपछि उनी एउटा सम्मेलनमा गइन् जसमा बन्धक बनाइएका चिम्पान्जीहरूको विषयले उनको मन छोयो।

उनी सम्झिन्छिन्, “म वैज्ञानिकका रूपमा गएकी थिए तर अभियानकर्ताका रूपमा फर्किएँ।”

उक्त परिवर्तनपछि उनी संयुक्त राज्य अमेरिका गइन जहाँ उनले अनुसन्धान गर्न चिम्पान्जीहरू प्रयोग गर्नेहरूलाई आफ्नो शैली परिवर्तन गर्न सम्झाउने काममा सफलता हात पारिन्।

अमेरिकामा राष्ट्रिय स्वास्थ्य इन्स्टिच्युटका ४०० चिम्पान्जीहरू या त संरक्षित क्षेत्रमा छन् या संरक्षित क्षेत्र निर्माणको प्रतीक्षा गरिरहेका छन्।

अफ्रिकामा चिम्पान्जीहरूको सङ्ख्या घटिरहेको छ र शिकार एउटा ठूलो समस्या रहेको छ।

आफूले पहिला काम गरेको गोम्बे जङ्गलसहितको सानो टापुमा सीमित भएपछि उनले यस्तो अवस्था आउनसक्ने आकलन गरेकी थिइन्।

आफ्नो संस्थाको माध्यमबाट एउटा कार्यक्रम नै चलाएर जङ्गल जोगाउन र जनावरहरू बचाउन स्थानीयवासीले नेतृत्व लिने प्रकृतिको अभियान उनले चलाइरहेकी छन्।

गुडवलले एकदमै व्यस्त जीवन बिताउने क्रममा कतिपय वर्ष ३०० भन्दा बढी दिन घरदेखि टाढा बिताइन्।

उनको कामले धेरै युवा वैज्ञानिकहरूलाई प्रेरणा दिइरहेको छ। तर उनी बेफिक्री खालकी छन् र आफ्नो सफलताका बारेमा धेरै बोल्दिनन्।

उनी भन्छिन्, “म साधारण व्यक्ति हो जसको भाग्य राम्रो थियो र मैले जीवनमा केही रोचक कुराहरू गर्न पाएँ।”