‘दुखी छन् बाबा’

Newslaya Home

‘दुखी छन् बाबा’

– निशान खत्री
बुधबार ०३, भदौ २०७७

सुनौं आज बाबाको कहानी
गरी त्याग दिए जवानी
प्रगतिको पथमा अघि बढ्न
साथ र हातको दिए वरदान ।।

धर्ती हुन् आमा,बाबा आकाश
मारे आफनो इच्छा बनाएनन् निराश
मानेन लाज गर्नलाई काम
हुर्काई बढाई बनाए महान् ।।

ऋणको भार शिरमा बोकी
खोक्दै घिस्रदै अघि बढी
आफनो नगरी कुनै परवाह
सन्तानलाई जहिल्यै दिई हौसला
कर्म गर्न सिकाउने बाबा
आज कमजोर छन् कठैबरा ।।

बाबाको अनुहारमा परेछन् मुजा
माग्दछन् सन्तानलाई एकमुठी भुजा
तर सन्तान धाउँछन् डिस्को र बार
बाबालाई ठान्दछन् जीवनको भार ।।

कलेटी प¥या छ बाबाको ओठ
आँखामा आसुँ छ हृदयमा चोट
वितको दुःख सम्झदै रुन्छन्
देखेर सन्तान झर्को मान्छन् ।।

बाबा होइन रे सुड्डो भन्छन्
घर बस भन्दा ल्याङ्ग नगर भन्छन्
जमाना कहाँबाट कहाँ पुग्यो भन्छन्
बाबा आमाको अर्ती थोत्रो भो भन्छन् ।।